असोजदेखी क्षेत्रीय अस्पतालमै ‘सिटी स्क्यान सेवा’

Posted on: 01 Sep, 2018

भदौ १६, सुर्खेत | कर्णालीका नागरिकले सिटी स्क्यानकै लागि नेपालगञ्ज वा नीजि अस्पताल धाउनु पर्ने बाध्यताको अन्त्य हुने भएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँले आगामी असोजदेखी सिटी स्क्यान सेवा शुरु गर्नेभएपछि विरामीहरुलाई बाहिर धाउनु पर्ने बाध्यताको अन्त्य हुने भएको हो ।

क्रमिक रुपमा सेवामा अब्बल बन्न लागेको क्षेत्रीय अस्पतालले असोज १ गतेदेखी सिटी स्क्यान सेवा शुरु गर्दैछ । अस्पतालले हाल नयाँ भवनमा सिटी स्क्यानका लागि आवश्यक संरचनाहरुको खडा गरिरहेको छ । स्वास्थ्य सेवा विभागले सिटी स्क्यान मेशीन दिएपछि संरचना निर्माण कार्य अन्तिम चरणमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतका मेडिकल रेकर्डर अधिकृत विनोद बस्नेतले जानकारी दिए । अस्पतालले विभागको सहयोगमा मेशीन सुर्खेत ल्याइसकेको छ । ‘मेशीन अस्पतालको नयाँ भवनमा राखिसकेका छौं ।’ बस्नेतले भने, ‘असोजदेखी सेवा शुभारम्भ गर्नेगरी काम अन्तिम चरणमा छ ।’

अस्पतालले सिटी स्क्यानका लागि आवश्यक संरचना निर्माणार्थ झण्डै २० लाख रकम खर्चिएको छ । सिटी स्क्यान कोठमा प्रयाप्त पानी, विद्युत लगायतका संरचनाका लागि उक्त रकम खर्चिएको बस्नेतको भनाई छ । ‘टाउको सम्वन्धी विरामीले सिटी स्क्यानकै लागि नीजि अस्पताल वा बाहिर जानु पथ्र्यो’ बस्नतेले थपे, ‘अस्पतालले नै मेशीन भित्राएपछि उपचारकै लागि अब बिरामीहरुले बाहिर धाउने पर्ने बाध्यताको अन्त्य भएको छ ।’ अस्पतालले सिटी स्क्यान गर्ने विरामीहरुको प्रकृति हेरेर शुल्क निर्धारण गरेको छ । अस्पताल विकास समितिले उपचारको प्रकृति हेरेर अस्पतालले बिरामीहरुबाट कम्तीमा तीनहजारदेखी पाँचहजारसम्म शुल्क लिने निर्णय गरेको बस्नतेले बताए । 

अस्पतालमा सिटी स्क्यानका लागि यस अघि नै दरवन्दी कायम गरेको थियो । उक्त दरवन्दीमा रेडियोजोलिष्ट डा. रविन खड्का  कार्यरत थिए । हाल खड्का काजमा भरतपुर अस्पतालमा मेडिकल सुपरिटेण्डन्ट पदमा कार्यरत छन् । ‘अस्पतालमा कार्यरत डा. खड्का भरतपुर अस्पताल जानुभएको छ ।’ बस्नेतले भने, ‘अस्पतालले दरवन्दी माग गरेर सेवा शुरु गर्ने तयारीमा छौं ।’ अस्पतालले केन्द्रीय र प्रदेश सरकारलाई तत्काल सिटी स्क्यान हेर्ने रेडियोलोजिष्ट डाक्टरको व्यवस्था गर्न माग गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!