तालाबन्दीले कृषि विश्वविद्यालयको काम अवरुद्ध

Posted on: 05 Sep, 2018

भदौ २०, चितवन | कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्राध्यापकले तालाबन्दी गरेका छन् । विश्वविद्यालयको मूलद्वारमा मङ्गलबार ताला लगाएपछि नियमित काम अवरुद्ध भएको छ । 

विश्वविद्यालयले दिएको सम्बन्धन मन्त्रिपरिषद्को बैठकले खारेज गरेपछि दुईवटा क्याम्पसले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । अदालतमा चलिरहेको मुद्दालाई सहयोग पुग्ने गरी विश्वविद्यालयका पदाधिकारीले कीर्ते प्रमाण उपलब्ध गराएको आरोप लगाउँदै प्राध्यापकले विश्वविद्यालय बन्द गराएका हुन् । 

नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन र नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनले संयुक्तरुपमा आन्दोलन गरेका छन् । मन्त्रिपरिषद्बाट भएको सम्बन्धन खारेजीको निर्णयको प्रतिरक्षा गरिनुपर्नेमा निजी क्याम्पसलाई बल पुग्नेगरी प्रमाण उपलब्ध गराएकाले विश्वविद्यालय बन्द गराइएको नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका सचिव डा.शङ्करराज बर्सिलाले बताए । 

यसअघि भदौ ६ गतेदेखि कृषि सङ्कायको डिनको कार्यकक्षमा प्राध्यापकले तालाबन्दी गरेका थिए । तालाबन्दीपछि पनि केही नभएपछि साङ्केतिक करुपमा विश्वविद्यालय नै बन्द गरिएको आन्दोलनरत प्राध्यापकले जनाएका छन् । 

विश्वविद्यालयले सातवटा क्याम्पसलाई कृषि र एउटालाई वन विषय अध्यापन गर्न पाउने गरी सम्बन्धन दिने निर्णय गएको असार २१ मा गरेको थियो । विश्वविद्यालयले सम्बन्धन दिने निर्णय गरेपछि त्यसको विरोधमा विद्यार्थी र प्राध्यापकले आन्दोलन गरेका थिए । सम्बन्धनको विरोधमा विश्वविद्यालय २७ दिनसम्म बन्द भयो । 

मन्त्रिपरिषद्बाट गरिएको सम्बन्धन खारेजीको निर्णयविरूद्ध निजी कलेजका सञ्चालकले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । विश्वविद्यालयका उपकुलपति प्राडा.ईश्वरीप्रसाद ढकालले विश्वविद्यालयको मूलद्वारमा तालाबन्दी गरिएपछि नियमित काम प्रभावित भएको बताए । 

वार्ताको माध्यमबाट समस्या समाधान गर्न विश्वविद्यालय लागिपरेको उनले बताए । विद्यार्थी, प्राध्यापक, कर्मचारीलगायतले विभिन्न बहानामा पटकपटक विश्वविद्यालयमा तालाबन्दी गरिँदा पठनपाठनमा समस्या भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!