बैतडीमा असारे विकासले यसरी निम्त्यायो जोखिम

Posted on: 05 Sep, 2018

विनोद सिंह विष्ट | भदौ २०, बैतडी | लगातार परेको वर्षाले भदौ पहिलो साता दोगडाकेदार गाउँपालिका–३ सिल्लका जनक चन्दको घर जोखिममा पारिदियो । खोचलेकदेखि चडेपानी जाने सडक चन्दको घरछेउबाटै काटिएको हुनाले जोखिममा परेको हो । स्थानीय सरकार आएपछि विकासले गति लिन्छ भन्ने आशामा रहेका बैतडीका नागरिकले अहिले विपत्ति झेल्न परिरहेको छ । विकासको नाममा मापदण्ड विपरीत खनिएका सडकले विपत्ति निम्त्याइरहेका छन् ।

बजेट सिध्याउने नाममा असारमा आएर विकास निर्माणमा काम हतार हतार गर्ने प्रवृत्तिले जोखिम बढाएको छ । जिल्लाका विभिन्न स्थानीय तहले वातावरणको ख्यालै नगरी सडक बनाउन चलाएका डोजरको बितण्डा पहिलो वर्षात्मै देखिन थालेको छ । धेरै ठाउँमा वर्षात्मै खनिएका सडक भत्केर भताभुंग भएका छन् भने सडक मुनितिरका वस्ती पहिरो र बाढीको जोखिममा परेका छन् ।

मुख्य राजमार्गको ख्यालै नगरी निर्माण गरिएका शाखा सडक तथा राजमार्ग माथि र मुनितिर खनिएका सडकले समेत वस्तीलाई जोखिममा पारिदिएका छन् । दोगडाकेदार गाउँपालिकाको खोचलेक बजारदेखि चडेपानी जान खनिएका सडकका कारण खिरेगाउँको वस्ती जोखिममा परेको छ ।

प्राविधिक र वातावरणीय पक्षलाई बेवास्ता गर्दै डोजर, एस्काभेटरजस्ता गरुङ्गो उपकरण प्रयोग गरेर सडक निर्माणका क्रममा निकालिएको माटो र पानीको व्यवस्थापन नहुँदा विपत्को जोखिम बढाएको दोगडाकेदार–३ श्रीकोटका हेमराज गिरीले बताउनुभयो । सडकले थुपारेको माटो बर्खाको पानीले गलेर बग्ने, सडकमा जम्ने पानीले खोल्सा बनाउने, माटो बगाउँदा वरपरका वस्तीमा पहिरो खस्ने, जमीन भासिने, भू–क्षय हुने र नदीमा बाढीको आयतन बढेर कटान गर्ने क्रम बढेको छ । उहाँले भन्नुभयो – “भू–संवेदनशीलतालाई ध्यान नदिएर डोजर चालकले आफूखुशी खनेका सडक विपत्को प्रमुख कारण बनेको छ ।”

यसका साथै उपभोक्ता समितिले सडकको नयाँ ट्र्याक बनाउँदा पर्खाल लगाउने, वृक्षरोपण गर्ने, भल व्यवस्थापनका लागि नाली बनाउने र माटोको व्यवस्थापन गर्ने काममा खासै ध्यान नदिँदा पहिरोको समस्या बढेको हो ।

अविरल वर्षाले डिलासैनी गाउँपालिका–३ मा खहरेखोलामा बाढी आयो । खोलामा आएको बाढी गाउँमा पसेपछि स्थानीय बासिन्दाको दुई सय रोपनी जमीन बगरमा परिणत भयो । यो वर्ष कलदे खोला सिमार र तल्लो छेपट्टा गाउँमा पस्दा २२ घर जोखिममा परेका छन् । “एक्कासि आएको बाढीले खेतीयोग्य जमिन बगाइदियो, त्यो बेला त ज्यान जोगाउनै मुश्किल प¥यो,” रानाले भन्नुभयो – “आकाशमा कालो बादल मडारिँदा अहिले पनि डर लाग्छ । फेरि खोलामा आउने बाढीले घर नै बगाउने हो कि भन्ने चिन्ता लाग्छ ।”

एक्कासि खहरे खोलामा आएको बाढीले खेतमा रोपेको धानबाली पूरै नष्ट गरिदिएको स्थानीयवासी अर्जुन रानाले दुःखेसो पोख्नुभयो । कलदे खोलामा आएको बाढीे सडकको ह्युम पाइप थुनिएर गाउँ पसेको हो । खेतमा लगाइएको धानबाली पूरै नष्ट भएपछि झनै समस्यामा परेको बताउँदै उहाँले भन्नुभयो – “खहरे खोलामा आएको बाढीले एकातिर समस्या निम्त्याएको छ भने खेतको छेउतिर चमेलिया नदीले कटान गर्दै गएको छ ।”

डिलाशैनीका स्थानीय बासिन्दालाई बाढीले ठूलै समस्यामा पारेको छ । बाढीले खेतीयोग्य जमीन पूरै पुरिदिएपछि समस्या भएको स्थानीयवासी रमेश धामीको भनाइ छ । डिलाशैनी गाउँपालिका वडा नं ६ स्थित हरिनगर बजार बाढी र पहिरोको जोखिममा छ । तलतिर चमेलिया नदीको कटान र माथिबाट पहिरो खस्ने भएकाले बजार नै जोखिममा रहेको वडा नं ६ का वडा सदस्य चन्द्रीनाथ योगीले बताउनुभयो ।

जिल्लाका विभिन्न स्थानमा खनिएका कच्ची सडकले बाढी र पहिरोको जोखिम बढाएको स्थानीय बासिन्दाको गुनासो छ । अध्ययन बिनै स्थानीय तहले धमाधम कच्ची सडक खनेपछि अहिले ती सडकले खेतबारी बगाउन थालेका छन् । दशरथचन्द नगरपालिकाको छेला–दुर्गाभवानी सडकका कारण सडक तलतिरका वस्तीहरु जोखिममा परेका छन् ।

वर्षाले सडकको पूरै माटो खेतमा पसेर खेतबारी नष्ट गर्नाका साथै सडक माथिबाट आएको खहरेले घर छेउमै पहिरो जाँदा समस्या भएको सुर्नया–६ का दुर्गादत्त अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो – “खेतबारी र घरै जोखिममा परेपछि अर्को घरमा सरेका छौं ।” रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!