जब उपचारको लागि अस्पताल पुर्याइएको छोरी घर फर्किँदा छोरो बन्यो !

Posted on: 06 Sep, 2018

भदौ २१, धनगढी । कैलालीस्थित सेती अञ्चल अस्पतालमा दुईजना सुत्केरी महिलाका नवजात शिशु साट्नेसम्मको लापरवाही भएको छ ।

अस्पतालमा सोमबार डडेल्धुराकी भावना बोहरा र कैलालीको गोदावरी नगरपालिकाकी काली खातीका नवजात शिशु स्वास्थ्यकर्मीको लापरवाहीका कारण एकापसमा साटिएका हुन ।

बोहरा आफन्तसँगै आफ्नो १७ दिनको विरामी नवजात शिशु (छोरा) लिएर भदौ १७ गते सेती अञ्चल अस्पताल भर्ना भइन् । निमोनियाले ग्रसित उनका छोरालाई चिकित्सकहरुले सेती अञ्चल अस्पतालको एनआईसीयुमा भर्ना गराए ।

भदौ १७ गते नै सेती अञ्चल अस्पतालको प्रसुती वार्डमा कैलालीको गोदावरी गाउँपालिकाकी काली खातीले पनि छोरी जन्माइन् । उनको नवजात छोरीको स्वास्थ्यमा पनि समस्या देखिएकाले चिकित्सकले उनको छोरीलाई पनि एनआईसीयुमा पठाए ।

भदौ १८ गते काली खातीको बच्चालाई कम भयो र उनलाई चिकित्सकले डिस्चार्ज गरे । एनआईसीयुमा काम गर्ने स्वास्थ्यकर्मीले खातीलाई छोरीको सट्टा, भीत्रबाट भावना बोहराको १७ दिनको छोरो ल्याएर थमाई दिए ।

खातीले बच्चा लिएर धनगढीदेखि झण्डै २५ किलोमिटर टाढा रहेको गोदावरी नगरपालिकास्थित जनुनाभाडीतिर लागिन् ।

‘म घरमा पुगेपछि बच्चाले दिशा गर्यो, पखाल्न उसको लुगा फुकालेको त, छोरो देखेँ’ कालीले भनिन्, ‘त्यसपछि अचम्ममा परे, घरकालाई बताएँ, हाम्रो त छोरी भएको तर घरमा छोरा आयो’ कालीले अगाडि थपिन् ।

एकै छिनपछि उनलाई अस्पतालबाट फोन गरेर बोलाइयो, अनि साटिएको बच्चा आ–आफ्नो अभिभावकको जिम्मा लगाइयो । निको भइसकेको छोरो बोकेर डडल्धुराको आलितालकी भावना बोहरा घर गइसकेकी छिन् भने काली खाती विहीबार पनि सेती अञ्चल अस्पतालमै भर्ना छिन् ।

सामान्य तथा एआईसीयु भित्र स्वास्थ्यकर्मी बाहेक अरु कसैलाई प्रदेश गर्न दिइँदैन । ‘अब हामीलाई भित्र जान दिँदैनन्, सेता लुगा लगाएकी एक नानीले बच्चा ठीक भइहाल्यो, घर जानु भनेर थमाइन्, हामी पनि बच्चा बोकेर घर गयौं’, काली खातीका श्रीमान् मेखराज खातीले भने ।

सेती अञ्चल अस्पतालले यस्तो गल्ती गर्ने स्वास्थ्यकर्मीको नाम बताउन मानेको छैन । सामान्य परिवारका मेखराजले आफुले कसैलाई नचिनेको बताउँदै सेता लुगा लगाएकी महिलाले बच्चा दिएको बताए ।

एनआईसीयुमा भेटिएका स्वास्थ्यकर्मीले भने आफूहरुले भावना बोहरा भनेर बोलाउँदा काली खातीकी आमा दिलु बोहरा आएर बच्चा लगेकाले यस्तो भएको बताएका छन् । काली खातीको माइती थर बोहरा हो । उनकी आमाले पनि बोहरा सुनेपछि बच्चा सामातेर घर गएको हुनसक्ने अनुमान गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!