निर्मला हत्या प्रकरणको डेढ महिना: के छ बम दिदीबहिनीको बयान ?

Posted on: 07 Sep, 2018

भदौ २२, कञ्चनपुर | निर्मला पन्तको बलात्कारपछि हत्या भएको डेढ बितिसकेको छ । तर अहिलेसम्म घटनामा संलग्न दोषीको पहिचान हुन सकेको छैन । १३ वर्षीया बालिका निर्मलाको बलात्कार र हत्याको घटनामा प्रहरीले प्रभावकारी रुपमा अनुसन्धान नगरेको आरोप लाग्दै आएको छ । 

प्रहरीले नै घटनामा संलग्न प्रमाणहरु नष्ट गरेको आरोप लगाउँदै स्थानीयबासिन्दाले प्रहरीको अनुसन्धानमा शंका गरेपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित प्रहरी प्रमुखको सरुवा गरेको थियो । साथै घटनाको छानविन तथा थप अनुसन्धानका लागि भदौ ८ गते गृहका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरीय छानविन समिति गठन गरी ५ सदस्यीय टोली कञ्चनपुर पठाएको थियो । 

उच्चस्तरीयले टोलीले प्रहरीको प्रारम्भिक अनुसन्धानको छानविन तथा शून्यबाट अनुसन्धान प्रक्रिया अगाडि बढाए पनि घटनाका प्रमाणहरु फेला पार्न सकेको छैन । प्रहरीले घटनास्थलबाटै प्रमाणहरु नष्ट गरेकाले टोलीले प्रमाणहरु फेला पार्न नसकेको हो । 

सो घटनाको छानविन गर्न कंचनपुर पुगेका उच्चस्तरीय छानविन समितिको टोलि शुक्रबार काठमाडौं फर्किदैछ । टोलीले घटनाको छानविन तथा थप अनुसन्धान गरी प्रतिवेदन तयार पारेर काठमाडौं फर्किन लागेको हो । 

टोलीलाई निर्मलाको बलात्कार र हत्याको घटनामा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको छानविन तथा थप अनुसन्धान गरी प्रतिवेदन तयार पार्न १५ दिनको समय दिइएको थियो ।

भदौ ८ गते महेन्द्रनगर पुगेको टोलीले सर्वदलीय÷सर्वपक्षीय छलफल गरी ९ गतेदेखि आफ्नो काम अगाडि बढाएको थियो । टोलीले सबैको माग बमोजिम शून्यदेखि अनुसन्धान सुरु गरी घटनास्थल, निर्मला गृहकार्य गर्न गएको घरको अनुगमन तथा पीडित परिवारसँग छलफल गरेको थियो । 

यस्तै, निर्मलाको हत्यामा संलग्न भएको हुन सक्ने आशंका गरिएका बम दिदीबहिनी लगायत झण्डै एक सय जनाभन्दा बढीसँग सोधपुछ गरेर त्यसकै प्रतिवेदन तयार पारेको अनुसन्धान टोलि बताएका छनं । 

निर्मलाको बलात्कार र हत्याको प्रारम्भिक अनुसन्धानमा नै प्रहरीले प्रमाण नष्ट गर्ने काम गरेकाले उच्चस्तरीय छानविन समितिले अनुसन्धानमा खटिएका प्रहरी अधिकृतसहितका कर्मचारीलाई कारबाहीका लागि सिफारिस गर्ने भएको छ । स्रोतका अनुसार प्रहरीले घटनास्थलबाटै प्रमाणहरु मेट्ने काम गरेकाले छानविन टोलीले प्रारम्भिक अनुसन्धानमा खटिएका प्रहरीहरुलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो । 

टोलीको सिफारिसपछि अनुसन्धानमा खटिएका प्रहरी अधिकृत सहित झण्डै १८ जना कारबाहीमा पर्ने देखिएका छन् । छानविन समितिले कारबाहीका लागि सिफारिस गरे अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरु थुनिन सक्ने सरकारी वकिलको कार्यालयले जनाएको छ । 

अपराध संहितामा कुनै पनि मुद्दालाई बदलिए वा लापरवाही गरियो भने थुन्न सक्ने व्यवस्था रहेको जिल्ला न्यायाधीवक्ता खेमराज भट्टले जानकारी दिनुभयो । 

निर्मला पन्तको हत्याको अनुसन्धानका लागि नियन्त्रणमा लिएका रोशनी बम र वबिता बमलाई फेरि ५ दिनको म्याद थप गरिएको छ । 

जिल्ला अदालत कञ्चनपुरले थप सोधपुछ र अनुसन्धानका लागि फेरि ५ दिन म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो । 

यसअघि पनि अदालतले सोधपुछ र अनुसन्धानका लागि एक हप्ताको म्याद थप गरेको थियो । उनीहरुको बयान लिने काम भइरहेको छ भने अरुलाई अनुसन्धानका लागि थप ५ दिनको म्याद थप गरिएको छ । 

जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार रोशनी र बबिता दुबै दिदीबहिनीले निर्मलाको बलात्कारपछि हत्याकाण्डको विषयमा आफूहरु अनविज्ञ रहेको बयान दिएका छन् । 

निर्मलाको हत्यामा संलग्न भएको भन्ने आशंका गरिएका तत्कालीन एसपी दिल्लीराज विष्टका छोरा किरण र भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टका भतिजा आशुयमाथि प्रहरीले निगरानी बढाएको छ । प्रहरीले उनीहरुकाबारे सुक्ष्म अनुसन्धान थालेको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले किरण र आशुयसँग सोधपुछको काम भइरहेको बताउनुभयो । 

उनीहरुमाथि विभिन्न कोणबाट अनुसन्धान भइसकेको बताउँदै उहाँले अहिलेसम्म नियन्त्रणमा लिएर अनुसन्धान गर्ने परिस्थिति नदेखिएको बताउनुभयो । 

निर्मलाको घटनाका बेला कञ्चनपुर रहेका किरण बाबुको सरुवापछि उनीसँगै काठमाडौं गएका थिए । उनलाई सोधपुछ र थप अनुसन्धानका लागि कञ्चनपुर झिकाइएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!