छोरी माथि हुने अघोषित अपराध रोकौंः वीरेन्द्रनगर नगरपालिका प्रमुख सुवेदी

Posted on: 08 Sep, 2018

भदौ २३, सुर्खेत | वीरेन्द्रनगरमा अघोषित रुपमा छोरीहरुको भ्रुण हत्या हुने गरेकोमा वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले चिन्ता व्यक्त गरेका छन् । मिस टिन सुर्खेत २०१८’ प्रतियोगिताको जानकारी दिन मिडवेष्र्टन फिटनेस सेन्टरले सुर्खेतमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख सुवेदीले छोराकै लागि छोरीहरुलाई भ्रुण हत्या भइरहेकोमा चिन्ता व्यक्त गरेका हुन् ।

उनले वीरेन्द्रनगरमा छोरीभन्दा छोराहरुको संख्या बढी रहेको तथ्याङ्क नगरपालिकासंग रहेको बताए । ‘समाजमा छोरीहरुले राम्रो काम गरेको थुप्रै उदाहरण छन्’ सुवेदीले भने, ‘छोराकै आशमा छोरीलाई गर्भमै हत्या गर्नु अघोषित अपराध हो । यसलाई रोक्न सबै जाग्नु पर्ने बेला आएको छ ।’ छोरी सौन्दर्यताका पात्र मात्रै नभएको भन्दै सुवेदीले समाजका हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने भएकाले यस्तो अपराधिक गतिविधि नगर्न आग्रह गरे । शैक्षिक, सामाजिक मात्रै नभइ हरेक काममा छोरीहरुले काम गर्न सक्ने भएकाले छोरी बचाउ अभियानको थालनीमा नगरपालिका लागेको सुवेदीले जानकारी दिए । छोरीप्रति हेर्ने दृष्ट्रिकोण अझै नसच्चिएको भन्दै सुवेदीले फिटनेस सेन्टरले आयोजना गरेको मिस टिन सुर्खेत प्रतियोगिताले पनि यस्ता सामाजिक सचेतनामुलक कार्यहरु गर्दै अघि बढ्न सुझाए । सामाजिक सचेतनामुलक कार्य गरेर प्रतियोगिता सञ्चालन गरेको आयोजकप्रति सुवेदीले धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा बोल्दै मिडवेष्र्टन फिटनेस सेन्टरका सञ्चालक प्रमोद हमालले लुकेर रहेका प्रतिभाहरुलाई उजागर गर्न प्रतियोगिता जारी रहेको जानकारी गराए । उनले सामाजिक सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेर प्रतियोगिहरु छनौट गरिने उल्लेख गरे । महिलाहरुको पर्व तीजमा प्रतियोगिहरुले नै रकम संकलन गरेर वृद्धाआश्रमका आमाहरुसंग तीज मनाउने बताए । मिस टिनमा सुर्खेतका १९ किशोरीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको फाइनल अडिसन आगामी असोज २० गते वीरेन्द्रनगरमा हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!