दाङका १९ वडा सचिवविहीन

Posted on: 10 Sep, 2018

भदौ २५, दाङ | जिल्लाका १०० वडामध्ये अझै १९ वडा सचिवविहीन अवस्थामा छन्। 

शहरी क्षेत्रका वडामा वडा सचिव पुगे पनि ग्रामीण भेगका वडामा वडा सचिव पुग्न सकेका छैनन्। दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा दुवै उपमहानगरपालिका, दङ्गीशरण र शान्तिनगर गाउँपालिकाका सबै वडामा सचिव पुगेका छन्। लमही नगरपालिकाका नौ वडामध्ये १, २, ४, ५ र ९ नं वडा सचिवविहीन छन्। 

सचिव नआएको अवस्थामा ती वडामा अहिले करारमा नियुक्त भएका कर्मचारीले काम चलाइरहेको र केही वडामा खरिदारलाई सचिवको जिम्मा दिइएको लमही नगरपालिकाका कार्यकारी अधिकृत गेहेन्द्रबहादुर डाँगीले बताउनुभयो। गढवा गाउँपालिकाको तीन वडा सचिवविहीन छन्। ती वडा हेर्ने जिम्मेवारी लेखापाललाई दिइएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए। राजपुर गाउँपालिकाका पाँच वडा सचिवविहीन छन्। 

यस्तै राप्ती गाउँपालिकाका दुई वडामा मात्रै सचिव कार्यरत छन् भने सात वडा अझै सचिवविहीन छन्। सचिव नपुगेका सबै ग्रामीण भेगका वडा हुन्। कुनैमा खरिदारलाई वडा सचिवको जिम्मेवारी दिइएको छ भने कुनैमा एउटै सचिवले दुई वडा हेर्नुपर्ने बाध्यता छ। 'वडाको कार्य सम्पादन गर्न समस्या भएको छ,' बङ्गलाचुली गाउँपालिकाका कार्यकारी अधिकृत चन्द्रकान्त पौडेलले भन्नुभयो। वडा सचिव नहुँदा योजना तर्जुमा गर्न, वडाको रिपोर्टिङ गर्न, वडा कमिटीको बैठक गर्न, पञ्जिकरणलगायतका काम गर्न समस्या भएको छ। स्थानीय तहले जनप्रतिनिधि पाएको डेढ वर्ष बिते पनि वडामा कर्मचारी नपुग्दा काम गर्न कठिनाइ भएको छ। (रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!