नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउन दिनभर लाग्ने

Posted on: 11 Sep, 2018

भदौ २६, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने भएको छ । सो स्थानमा आज बिहान १ः३० बजे पहिरो खसेको थियो । अन्य विभिन्न ठाउँमा पनि पहिरो खसेको छ । 

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार रुखसहित पहाडको ढिस्को खसेपछि सडक अबरुद्ध भएको हो । खनालले भने, ‘निकै ठूलो पहिरो छ, पन्छाउन दिनभर लाग्छ ।’

सो ठाउँमा तीन लोडर र दुई एक्साभेटरले पहिरो पन्छाउने काम गरिरहेका छन् । १०० मिटर सडक पहिरोले ढाकेको छ । खनालका अनुसार १०० मिटर माथिबाट ठूला ढुङ्गासहितको पहिरो झरेको हो । 

चार किलोमा अहिलेसम्मकै ठूलो पहिरो खसेको खनालले बताए । सोही सडकको गाईघाट, जलबिरे, कालिखोला, १७ किलोलगायतका ठाउँमा पनि पहिरो खसेका छन् । ती ठाउँका पहिरो सानो भएकाले छिट्टै सफा गर्न सकिने आयोजनाले जनाएको छ । पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको जनाइएको छ । 

सडक बन्द भएसँगै यात्रु प्रभावित भएका छन् । हरितालिका तीजको आज दरखाने दिन भएकाले माइत जाने, आउने सयौँ महिला सडकमै बिचल्लीमा परेका छन् । (रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!