सल्यानको जंगल डढेलोले खायो

Posted on: 12 Apr, 2016

चैत्र ३०, सल्यान । यस बर्ष सल्यानका २ हजार हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । जिल्लामा ६ ठाउँमा ठुला र २१ वटा साना गरि कुल २७ स्थानमा डढेलो लागेको जिल्ला वन अधिकृत विद्यानाथ झाले जानकारी दिएका छन ।

नियन्त्रणका लागि जिल्ला वन कार्यालय, नेपाल प्रहरी, नेपाल आर्मी, स्थानिय सामुदायिक वन उपभोक्ता समितिहरु र स्थानियबासीहरुको पहलमा आगो नियन्त्रणका लागि प्रयास जारी गरिएको छ ।

जिल्लाका फलावाङ्ग, माल्नेटा, शान्तीनगर लगायतका ठाउँको जंगल सखाप पारेको जिल्ला वन कार्यालयले जानकारी दिएको छ । जिल्लामा डढेलो नियन्त्रणका लागि स्थानिय संचार माध्यामबाट, सुचना प्रशारण गर्नुका साथै विगत देखि पर्चा वितरण गरिएको र अव आपतकालिन अवस्था आएमा माइकिङ्ग गर्ने अधिकृत झाले जनाएका छन । वन डढेलो संगै खडेरी झनै बढ्ने भएकाले आगलागि हुननदिन विभिन्न पहल थाल्न र डढेलो लाग्न नदिन सबैमा झाले अनुरोध गरेका छन । सल्यानमा ५ सय ४२ वटा सामुदायिक वन र ५५ हजार १ सय ६५ हेक्टर हेक्टर वनक्षेत्र रहेको छ ।

राती १ बजे सम्म चैवाङ्गको जंगलमा लागेको आगो नियन्त्रणमा लिएको नेपाली सेना, प्रहरी र वनको टोलीले श्रीनगरबाट लागेको आगो नियन्त्रणका लागि पनि जुटिरहेको छ । संयुक्त टोलीले खलंगाको लुहापिङ्गमा रहेको विद्यालयमा र जिल्ला खेलकुद विकास समितिको कार्यालयलाई आगो लाग्नबाट जोगाएको नेपाल आर्मीका मेजर पृथ्वी बहादुर थापाले बताएका छन । उनले हिजो रातभरी खटिएको जनशक्तिले नपुगी थप जनशक्ती मगाएको पनि जनाएका छन ।

त्यस्तै डढेलोको विषयलाई लिएर जिल्ला दैवि प्रकोप उद्धार समितिको बैठक बसेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको अध्यक्षतामा बसको बैठकले जिल्लामा जनचेतना मुलक कार्यक्रमका साथै अग्नी नियन्त्रणका उपकरण खरिद गर्ने निर्णय गरेको छ । साथै बैठकमा बढ्दो गर्मि संगै झाडापखाला र सर्पको टोकाइ हुने भएकाले जिल्लाका अस्पतालहरुमा औषधी र स्वास्थ्यकर्मीलाई तयारीका साथ राख्नेगरी छलफल पनि गरेको ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!