पस मेसिनको सहायताबाट बैंकको लाखौँ ठगि गर्ने नुवाकोटका एक युवक पक्राउ

Posted on: 11 Sep, 2018

भदौ २६, काठमाडौं । पस मेसिनबाट नक्कली कार्डको सहायताले बैंकको २२ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ | 

पक्राउ पर्नेमा नुवाकोटका प्रदीप न्यौपाने रहेका छन् ।

एक्सपोर्ट ईम्पोर्टको ठूलो कारोबार छ भनी सनराइज बैंकबाट पस मेसिन (प्वाइन्ट अफ सेल मेसिन) लिन सफल उनले उक्त मेसिनबाट बैंकको २२ लाख ७७ हजार ४ सय ५२ रुपैयाँ आफ्नो खातामा सारेको पाइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले जनाएको छ ।

डीएमके इम्पोर्ट एण्ड एक्सपोर्ट प्राली कम्पनी दर्ता गरी कम्पनीको नाममा सनराइज बैंकबाट पस मेसिन लिएका उनले असार २२ देखि भदौ ५ गतेसम्म सो रकम झिकेको पाइएको छ ।

प्रहरीले उनलाई भदौ २२ गते नुवाकोटको विदुर नगरपालिका २ शेराबाट पक्राउ गरेको हो । सीआईबीले उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ अनुसार अनुसन्धान गर्न उच्च अदालतबाट ७ दिनको म्याद लिएको छ ।

सीआईबीका अनुसार न्यौपानेले ठूलो कारोबार हुने भनी बैंकबाट पस मेसिन लिएका थिए । त्यस मेसिनमा बेलुका ८ बजेपछि नक्कली कार्ड रिड गराउने गर्थे ।

उनले गत असार २२ देखि भदौ ५ सम्म १ सय ६३ पटकको प्रयासमा १ करोड २ लाख रुपैयाँ झिक्न प्रयास गरेका थिए । तर न्यौपानेले उक्त कार्डबाट २२ लाख ७७ हजार रुपैयाँ आफ्नो कम्पनीको खातामा ट्रान्सफर गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!