लमजुङमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ४ पुग्यो

Posted on: 13 Sep, 2018

भदौ २८, लमजुङ | मस्याङ्दी–३ अर्खलेमा बुधबार दिउँसो आएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । पहिरोमा हराएकी एक वृद्धाको शव आज फेला परेपछि मृत्यु हुनेको सङ्ख्या चार पुगेको हो । 

सो घट्नामा परी बेपत्ता भएकी ७० वर्षीया ललितमाया गुरुङको शव आज बिहान फेला परेको हो भने एकजना अझै बेपत्ता छन् । पहिरोमा पुरिएर बुधबार मस्याङ्दी–३ खुदी पल्लोटारीका ६० वर्षीया अभिरुपा थापा, १० वर्षीय सिराक थापा र मस्याङ्दी–४, श्रीचौरीकी अन्दाजी ४५ वर्षीय विष्णु गुरुङको मृत्यु भएको थियो । 

बुधवार मस्याङ्दीले बगाएका दुईजना अझै बेपत्ता छन् । बेशीशहर नगरपालिका–१० चितिमा निर्माणाधीन तल्लो दोर्दी जलविद्युत् आयोजनाका श्रमिक बलिराम चौधरी र लक्ष्मण थारूलाई मस्याङ्दीको भेलले बगाएको हो । उनीहरु बर्दिया जिल्ला ठाकुरद्वार नगरपालिकाका हुन् ।

बाढीले उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिकाकै विभिन्न ठाउँमा चार घर, एउटा ट्र्याक्टर र तीन मोटरसाइकल बगाएको छ । बाढी पहिरोबाट जिल्लामा अहिलेसम्म नौजना घाइते भएको जिल्ला प्रकोप व्यवस्थापन समितिले जनाएको छ । 

निरन्तर पहिरो खसेका कारण लमजुङ–मनाङ सडकखण्ड अवरुद्ध छ । अवरुद्ध सडकखण्डअन्तर्गत मस्याङ्दी–४ घोप्टेभिरमा २० जनाभन्दा बढी यात्रु अलपत्र परेका छन् । उनीहरुको उद्धारका लागि हेलिकप्टर प्रयोग गरिए पनि सुरक्षित अवतरण हुन नसक्दा उद्धारमा कठिन भएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!