निर्मला हत्या प्रकरण: बाबुआमा भन्छन् शव जलाउँन यस्तो दवाब दिए

Posted on: 13 Sep, 2018

भदौ २८, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तका बुबा यज्ञराज पन्त र आमा दूर्गादेवी पन्त छोरोको न्यायको निमित्त काठमाडौं आएका छन् । सोहि क्रममा उनीहरुले निर्मलाको शव दबावमा परेर जलाइएको बताएका छन् । शव जलाउन दबाव दिने डोटीका तीर्थराज भण्डारीले दवाव दिएको भन्दै उनको भूमिकामाथि सत्यतथ्य छानविन हुनुपर्ने निर्मलाका पिताले माग गरेका छन् ।

नाताले सालो पर्ने तीर्थराज भण्डारीले डोटीबाट कञ्चनपुर झरेर निर्मलाको शव जलाउन एसपी र सिडिओसँग मिलेर धम्कीपूर्ण दबाव दिएको निर्मलाका बुबाले बताएका छन् । उनले भने:-‘हामीले सत्यतथ्य बुझ्नुपर्छ, तीर्थराजले किन वीचमा आएर लास उठाउनलाई जोड गरेको छ ?’ छोरीका हत्यारालाई कारवाहीको माग गर्दै काठमाडौं आएका यज्ञराजले त्यसमै थप गर्दै भने:- ‘त्यो नेतागिरी गर्छ । त्यो अहिलेसम्म हामीलाई भेट्न आएको छैन । मैले फोन गर्दा आउँछु भन्यो, आएन । एक महिनासम्म फोन स्वीच्ड अफ भयो ।’

तीर्थराज भण्डारीको घर डोटी हो । उनी निर्मलाका सहोदर मामा होइनन् ।  उनी दूर्गादेवीका ठूलोबुबाका छोरा हुन् । भण्डारी निर्मलाको घरमा प्रायः कहिल्यै आउने गरेका थिएनन् । तर, निर्मलाको हत्यापछि परिवारजनले शव जिम्मा लिन नमानिरहेका बेला तीर्थराज अकस्मात कञ्चनपुर झरे । सिडियो र एसपीसँग मिलेर उनले परिवारका सदस्यलाई निर्मलाको शव जिम्मा लिन र जलाउन दबाव दिए ।

यज्ञराजले तीर्थराजको भूमिकामाथि थप प्रश्न उठाउँदै भने- ‘छानविन समितिले मलाई तीर्थराज भनेको को हो भन्यो, मैले सालो हो भनें । नम्बर दिएँ, तर फोन लागेन ।

जेठानलाई खोज्न लगाएँ, भाउजूहरुले घरैमा छ भन्नुभयो । पछि फोन खोल्यो । नयाँ नम्बरमा छानविन समितिका सदस्य वीरेन्द्र केसीले फोन गरेर ‘तैलें किन भाञ्जीको लास जलाउन दबाव दिइस् भनेर सोध्दा जवाफ दिन सकेन ।’

पति यज्ञराजसँगै काठमाडौंमा रहेकी दूर्गादेवीले चाहिँ आफ्नो जेठाबुबाका छोरा तीर्थराज भण्डारीले अहिले गल्ती स्वीकार गरेको बताइन् । उसले थाहा नपाएर त्यसो गरेको हुन सक्ने दूर्गादेवीले बताइन् ।

दूर्गादेवीले पत्रकारसँग भनिन्- ‘अहिले तीर्थराज भण्डारीले त्यो एसपी (डिल्लीराज विष्ट) का बारेमा मलाई पहिले थाहा भएन दिदी भनेर भनेको छ । उसले गल्ती स्वीकारेको छ, उसले थाहा नपाएर त्यसो गरेको हुन सक्छ ।’

तर, श्रीमतीले यसो भनिरहँदा पति यज्ञराजले थपे, ‘तर, हामीले सत्यतथ्य बुझ्नुपर्छ ।’

निर्मलाका पिता यज्ञराजले तीर्थराजको गतिविधिमाथि शंका गर्दै भने- ‘त्यसले यहाँ आएर लास जलाउन किन दबाव दियो ? त्यसलाई यहाँ कसले बोलाएको थियो ?’

यस बिषयमा तपाइको प्रतिक्रिया...!