नुवाकोटको घ्याङ्फेदीमा ३७ घर विस्थापित

Posted on: 13 Sep, 2018

भदौ २८, नुवाकोट | जिल्लाको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीको चेताङमा गएको पहिराका कारण ३७ घरपरिवार विस्थापित भएका छन् । 

बुधबार बिहानदेखि जान थालेको पहिराका कारण चेताङका ३७ घरपरिवार विस्थापित भएका हुन् । सढ्तीस घरमध्ये १२ घर पहिरोमा परेर पूर्णरुपमा क्षति भएको र अन्य घरमा पहिरोको जोखिम भएपछि विस्थापित भएको स्थलगत अनुगमनमा आज पुग्नुभएका नुवाकोट क्षेत्र नं १ का सांसद हीतबहादुर तामाङले जानकारी दिनुभयो । 

“पहिरो खसिरहेको छ, पानी नपर्दा पनि पहिरो नरोकिएकाले विस्थापित घरको सङ्ख्या अझै बढ्न सक्ने देखिएको छ”, सांसद तामाङले भन्नुभयो । पहिरोबाट विस्थापित भएका खुला आकाशमुनि बसिरहेकाले उनीहरुलाई आवश्यक त्रिपाल, खाद्य सामग्री पु¥याउन समन्वय गरिएको सांसद तामाङले बताउनुभयो । 

आज पहिराको अवस्था र असर बुझ्न सांसद तामाङ, संसद्मा नेकपाका प्रमुख सचेतक देव गुरुङ र प्रदेश नं ३ का उपसभामुख राधिका तामाङ घटनास्थल पुग्नुभएको थियो । पहिराको कारण स्थानीय माङ्गेन खोलामा आएको बाढीले तीन वटा झोलुङ्गे पुलसमेत बगाएको छ । 

पहिराले तीन वटा भैँसी, छ वटा गाई र गोरु, १०० वटा गिरिराज जातको कुखुरा भएको फार्मसमेत बगाएको छ । पहिरोबाट विस्थापित भएकालाई नजिकैको घ्यावार चौरमा राखिएको छ । विस्थापितको सहयाताका लागि त्रिपालसहितको टोली पठाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नन्दलाल शर्माले बताउनुभयो । 

पहिरोमा फसेका दुई जनाको बुधबार साँझ नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरी विदुर ल्याएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!