सुरुङ प्रवेश मार्गमा पहिरो जाँदा दुईको मृत्यु, नौ घाइते

Posted on: 16 Sep, 2018

भदौ ३१, रसुवा | निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरोका कारण शनिबार राति दुई जनाको मृत्यु भएको छ । 

सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार मृत्यु हुनेमा रुकुम जिल्ला भूमे गाउँपालिका– ९ का ५० वर्षीय भीम रोकाको स्थानीय मेडिकलमा उपचारका क्रममा र मकवानपुर जिल्ला हेटौँडा नगरपालिका–११ मकवानपुरका २२ वर्षीय रमेश कप्तौलाको घटनास्थलमै मृत्यु भएको हो । 

उनीहरु टिमुरेस्थित भन्सार कार्यालयको मोटर पार्किङ गर्ने स्थलको भोटेकोशी पारिपट्टिको गोसाइँकुण्ड गाउँपालिका–१ स्थित आयोजनाको सुरुङ प्रवेश गर्ने क्रममा माथिबाट झरेको पहिरोबाट मृत्यु भएको हो । सुरुङ निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी सी.डब्लू्.ईमार्फत रात्रिकालीन काम गर्न सुरुङभित्र जाने क्रममा टिपरमाथि ढुङ्गा खस्दा उनीहरुको मृत्यु भएको हो । 

सोही दुर्घटनामा गम्भीर घाइते रुकुम जिल्ला भूमि गाउँपालिका–२ का २५ वर्षीय जगदीश रोका, रुकुम जिल्लाकै काक्रेका २२ वर्षीय टेकमान बुढा र ४२ वर्षीय चिनियाँ नागरिक छेत्यो थअतजभथय रहेका छन् । 

उनीहरुलाई गएराति नै थप उपचारार्थ काठमाडौँ पठाइको थियो । धुञ्चे अस्पतालमा भर्ना भएका अर्का प्रकाश भट्ट भने थप उपचारार्थ आज बिहानै काठमाडौँ पठाइएको रसुवा जिल्ला अस्पताल धुञ्चेले जनाएको छ । 

सामान्य घाइते भएका अन्यको ठेकेदार कम्पनी चिनियाँ सी.डब्लू.ईको टिमुरेस्थित मेडिकल क्याम्पमा उपचार भइरहेको जलविद्युत् आयोजनाले जानकारी दिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!