निर्मला हत्या प्रकरण: घटनाको छानविन गर्न अर्कों ‘शक्तिशाली’ समिति गठन

Posted on: 16 Sep, 2018

भदौ ३१, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानविन गर्न अर्कों ‘शक्तिशाली’ समिति गठन गरिएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एजआईजी) बढुवामा सिफारिस भएका डीआइजी धिरु बस्नेतको संयोजकत्वमा अर्को समिति गठन गरिएको हो ।

समितिका सदस्यहरुमा एसएसपी निरजबहादुर शाही, डिएसपीहरु रमेश थापा, दधिराम न्यौपाने र कौशल बुढाथोकी सहित ९ जना रहेका छन् ।

यसअघि गठन भएको प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) उत्तम सुवेदीको नेतृत्वमा गठित कमिटीलाई पुनर्संरचना गर्दै प्रहरी हेड्क्वार्टरले डिआईजी वस्नेतलाई आन्तरिक अनुसन्धान गर्ने जिम्मा दिएको छ ।

घट्नास्थलमा प्रहरी बरिष्ठ उपरिक्षक ठाकुर ज्ञवालीको नेतृत्वको अनुसन्धान टोली पठाएर नयाँ शिराबाट अनुसन्धान शुरु गरेको प्रहरी प्रधान कार्यालयले केही दिनअघि मात्रै एसएसपी उत्तम सुवेदीको नेतृत्वमा दोस्रो समिति गठन गरेको थियो ।

उत्तम सुवेदीको नेतृत्वमा गठित समितिलाई उच्चस्तरीय बनाउँदै गठन भएको बस्नेत नेतृत्वको कमिटीले निर्मला हत्याकाण्डको अनुसन्धानमा संलग्न सिआईबी लगायतको निकायबाट खटिएका अनुसन्धानकर्ताहरुको भूमिकाबारे छानविन गर्नेछ ।

बस्नेत  नेतृत्वको कमिटीले केन्द्रीय अनुसन्धान ब्यूरोबाट त्यतिबेला अनुसन्धानका लागि कञ्चनपुर गएको डिएसपी अंगुर जिसी, तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्ट र अनुसन्धानमा संलग्न अन्य प्रहरी कर्मचारीको भूमिकाबारे छानविन गर्ने बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!