नुवाकोटका पहिरोपीडितलाई राहत

Posted on: 16 Sep, 2018

भदौ ३१, नुवाकोट | दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदी, चेताङका पहिरोपीडितलाई राहत वितरण गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय र दुप्चेश्वर गाउँपालिकाका जनप्रतिनिधिले गाउँमै पुगेर पीडितलाई नगद राहत वितरण गरेका हुन् । पहिराको कारण घर पूर्णरुपमा क्षति भएका ११ परिवारलाई रु २० हजारका दरले रकम प्रदान गरिएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो । जिल्ला दैवीप्रकोप उद्धार समितिका तर्फबाट घर भत्किएका परिवारलाई रु १० हजार र गाउँपालिकाबाट रु १० हजारका दरले राहत दिइएको हो । 

पहिराले घर नभत्काएपछि जोखिमका कारण घर छाडेर विस्थापित २५ परिवारलाई गाउँपालिकाले जनही रु पाँच हजारका दरले राहत वितरण गरिएको छ । चेताङ पहिरोबाट विस्थापित भएकाहरुलाई नजीकैको घ्यावर चौरमा बस्ने र खाने बन्दोबस्त मिलाइएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिका अध्यक्ष तामाङका अनुसार बुधबार गएको पहिराले सयौंँ रोपनीमा खेती लगाइएको जग्गासमेत बगाएको छ । आठ किलोवाट, सात किलोवाट र पाँच किलोवाटका तीन लघु जलविद्युत् केन्द्र तथा स्थानीय मांगेन खोलामा रहेका तीन झोलुङ्गे पुलसमेत बगेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!