सुर्खेतको हावापानी कार्यालय कोहलपुर सारिदै

Posted on: 16 Sep, 2018

भदौ ३१, सुर्खेत | हरेकपटक नयाँ सरकार गठन हुँदा आफू अनुकूल मन्त्रालय र मातहतका निकाय फुटाउने र जुटाउने प्रवृत्तिको निशानामा जल तथा मौसम विज्ञान विभाग पर्ने गरेको छ । लामो समय जलस्रोत मन्त्रालयमा समेटिएको विभाग कहिले विज्ञान, कहिले वातावरण मन्त्रालय हुँदै हाल ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा गाभिएको छ । गत फागुन दोस्रो सातादेखि विभाग ऊर्जा मन्त्रालयमा गाभिएको हो । अधिकांश हवाई दुर्घटनाको कारण मौसम र मौसमजन्य सूचनासँग जोडिन्छ । मौसमसम्बन्धी तथ्यांक संकलन तथा सूचना सम्प्रेषणका लागि कार्यक्षेत्र विभागलाई तोकिएको छ ।

यो विषयसँग कुनै तालमेल नहुने ऊर्जा मन्त्रालय मातहत विभाग गाभिएपछि सो निकायका कर्मचारी अन्योलमा छन् । तर विभागको क्षमता अभिवृद्धि तथा कार्यसम्पादन कुन मन्त्रालय मातहत समेट्ने भन्ने टुङ्गो नहुँदा व्यावहारिक कठिनाइ थपिएको छ । विभाग अझै कुन मन्त्रालयमा गाभिने हो, कार्यक्षेत्र के कस्तो तोकिने हो भन्नेमा अन्योल रही रहँदा कामकारबाही प्रभावित हुने विभागका अधिकारीहरु बताउँछन् । शुक्रबार मात्रै संघिय मामिला तथा सामान्य प्रशान मन्त्रालयले मौसम विभागलाई चार क्षेत्रमा रहने गरी स्वीकृत गरेर संघिय मन्त्रालयमा पठाएको छ । जल तथा मौसम कार्य प्रकृति भएकाले हालकै मातहतका संरचनामा यथावत राख्न आग्रह गरिएपनि मन्त्रालयले सम्बोधन नगरेको जल तथा मौसम विभागका एक विज्ञले जानकारी दिए । उनले मन्त्रालयले आफूहरुको मागलाई सम्बोन्धन नगरेर चार कार्यालयमा राख्ने प्रस्ताव लिएकोमा आपत्ती समेत जनाए ।

हाल जल तथा मौसम विज्ञान विभाग अन्तरगत काठमाडौं बाहिर रहेका ६ कार्यालयलाई चारमा झार्ने र तराई केन्द्रीत कार्यालय राख्ने प्रस्ताव पेश गरेको छ । जलवायु परिवर्तनका दृष्टिले जोखिममा रहेको कर्णाली प्रदेशको सुर्खेतमा रहेको कार्यालय हटाएर चार कार्यालय बनाउन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वीकृत गरि संघिय मन्त्रिपरिषदमा पठाएको छ । अब सुर्खेतस्थित मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय प्रदेश ५ को कोहलपुर सर्ने निश्चित जस्तै भएको छ । मन्त्रालयले प्रदेश न १ र २ हेर्ने गरि धरान, प्रदेश न ४ हेर्ने गरि पोखरा, प्रदेश ५ हेर्ने गरि भैरहवा, प्रदेश न ६ र ७ हेर्ने गरि कोहलपुरमा राखिने भएको छ । यसमा पोखरा र धरान यथावत छन् । प्रदेश ५ मा दुई कार्यालय राख्ने र पुर्वाधारयुक्त, मौसम राडर समेत हेर्ने सुर्खतका कार्यालय काहलपुरमै राख्नुले कर्णाली प्रदेशलाई उपेक्षा गरिएको र संघिय अवधारणा अनुरुप संरचना तयार भएकोमा जल तथा मौसम विज्ञान विभागले नै आपत्ती जनाएको छ । कर्णालीमा हुने दैवी प्रकोपका घटनाले आक्रान्त भइरहेको बेला कार्यालय कोहलपुर सार्नु गलत भएको एक कर्मचारीले बताए । उनले मौसम सम्वन्धी जानकारी दिने राडार समेत सुर्खेतमा निर्माण भइरहेको बेला कार्यालय सार्नु कर्णालीलाई उपेक्षा गरेको उल्लेख गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!