दुई महिनामा १४५ जनामा स्क्रब टाइफस संक्रमण

Posted on: 17 Sep, 2018

असोज १, चितवन | जिल्लामा चालू आर्थिक वर्षको साउन र भदौ महिनामा १४५ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ८०२ जनाको रगत परीक्षण गरिएकामा सो सङ्ख्यामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको हो । कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार भेटिएका सङ्क्रमितमध्ये चितवनका ५०, नवलपरासीका ३७, गोर्खाका २२ र अन्य जिल्लाका ३६ जना रहेका छन् । चितवनमा शहरी क्षेत्रका सङ्क्रमित बढिरहेको उहाँले बताउनुभयो । 

गत आर्थिक वर्षको साउन र भदौमा जिल्लामा १८४ जनामा सो रोगको सङ्क्रमण भएको थियो । गत आवमा दुई हजार २३७ जनाको रगत परीक्षण गरिएकामा ४१० जनामा सङ्क्रमण भेटिएको थियो । आँखाले देख्न नसकिने मुसाको कानमा हुने ‘माइट’ नामक जीवाणुको टोकाइबाट यसको सङ्क्रमण हुने गर्दछ । जिल्लामा नौ जनामा डेंगुको सङ्क्रमण भेटिएको छ । पाँच सय ६१ जनाको रगत परीक्षण गरिएकोमा सो सङ्ख्यामा डेंगु भेटिएको हो । केसीका अनुसार चितवनका चार, नवलपरासी र गोर्खाका दुई÷दुई तथा रुपन्देहीका एक जना सङ्क्रमित भएका छन् । डेंगुको सङ्क्रमण हुनेमा भरतपुर महानगरपालिकाका तीन र माडीका एक रहेको उहाँले बताउनुभयो । 

गत आवमा जिल्लामा एक हजार ४५३ को रगत परीक्षण गरिएकामा ५९ जनामा डेंगुको सङ्क्रमण भेटिएको थियो । उनीहरुमध्ये ३३ चितवनका थिए । सो वर्ष भदौ मसान्तसम्ममा आठ जनामा डेंगु भेटिएको थियो । डेंगु रोज सङ्क्रमित ‘एडिस’ नामक लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!