अब गरीबी सहन सकिन्न: नेता खनाल

Posted on: 22 Sep, 2018

असोज ६, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले देशले अब गरीबी, निरक्षरता र बेरोजगारी सहन नसक्ने बताउनुभएको छ । 

शहीद अजबलाल स्मृति प्रतिष्ठानले यहाँ आयोजना गरेको ‘शहीदका सपना र सरकारको दायित्व’ विषयक अन्तक्र्रियामा उहाँले देश र जनताको पक्षमा बलिदान गर्ने शहीदको सपना साकार पार्न देशलाई समृद्धिको दिशामा अघि बढाउनुपर्ने बताउनुभयो । 

पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता खनालले भन्नुभयो, “मुलुकले गरीबी, बेरोजगारी र अशिक्षा सहन सक्दैन । जनताले विश्वास गरेर दुई तिहाइको सरकार बनेको छ । यो मत खेर जान दिनुहुन्छ । शहीदको सपनालाई साकार तुल्याउन देशलाई समृद्धि र आत्मनिर्भरतातर्फ बनाउनैपर्छ ।”

उहाँले विभिन्न खाले सङ्घर्षबाट प्राप्त सङ्घीय गणतन्त्रलाई संस्थागत तथा संविधान कार्यान्वयनलाई गति दिँदै उपलब्ध स्रोतसाधनको भरपुर उपयोग गरी मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो । 

नेकपा प्रदेश नं २ का अध्यक्ष प्रभु साहले तत्कालीन जनयुद्धका शहीदलाई सरकारले राष्ट्रिय शहीदको सूचीमा राखी आश्रित परिवारलाई राज्यका विभिन्न निकायमा आरक्षणको व्यवस्था गर्नुपर्ने खाँचो औँल्याउनुभयो । 

समाज रुपान्तरणका खातिर जीवन बलिदान गर्ने शहीद अझै पनि सामाजिक अपमान तथा आर्थिक समस्या भोग्न बाध्य रहेको भन्दै उनीहरुलाई सामाजिक सम्मानको वातावरण सिर्जना गरिनुपर्नेमा जोड दिनुभयो । 

नेकपाका केन्द्रीय सदस्य धर्मदत्त देवकोटाले शहीदको योगदानलाई कदर गर्दै उनीहरुका परिवारलाई जीविकोपार्जनको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिष्ठानका अध्यक्ष शीला यादवले राजनीतिक परिवर्तनका लागि जीवन बलिदान गर्ने शहीदलाई राष्ट्रले उच्च सम्मानका साथ परिवारको हेरचाहमा ध्यान दिनुपर्ने बताउनुभयो । 

तत्कालीन नेकपा (माओवादी) जनयुद्धका क्रममा विसं २०५८ चैत ९ गते अजबलाल यादवको मृत्यु भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!