दाङको राजपुर गाउँपालिकाद्वारा विद्यालयलाई कम्प्युटर प्रदान

Posted on: 26 Sep, 2018

असोज १०, लमही | दाङको बिकट क्षेत्रको एक विद्यालयमा कम्प्युटर र सोलार जडान गरिएको छ । राजपुर गाउँपालिकाको गौरीशङ्कर आधारभूत विद्यालयलाई गाउँपालिकाले सीमा विकास कार्यक्रमअन्तर्गत रु नौ लाख बराबरको दुई किलोवाटको सौर्य ऊर्जा, चारवटा कम्प्युटर, दुईवटा ल्यापटप, एउटा प्रिन्टरलगायतका सामान विद्यालयलाई उपलब्ध गराएको हो । 

कम्प्युटर जडानसँगै विद्यार्थीलाई कम्प्युटरमा पठनपाठन गराउन सहज हुने विद्यालयका प्रधानाध्यापक टङ्कबहादुर बिकले बताउनुभयो । विद्यालयमा सुनपथरी नाका, सुकैया नाका, खिड्की नाका, सिमगजमरी र भैसाही नाकाबाट विद्यार्थीहरु पढ्न आउने गर्छन् । 

सडक, विद्युत् र सञ्चारको पहुँचदेखि टाढा रहेको उक्त विद्यालयमा कम्प्युटर शिक्षामा टेवा पुग्ने उद्देश्यले कम्प्युटर वितरण गरिएको गाउँपालिका अध्यक्ष लोकराज केसीले बताउनुभयो । यातायात समस्या भएकाले खरिद गरिएको सामान विद्यालयसम्म पुर्याउन बाँकेको राप्तीसोनारी गाउँपालिका, नरैनापुर गाउँपालिका हुँदै भारतको भिन्नगा, सिरसिया हुँदै भैसाही नाकाबाट ढुवानी गर्नु परेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!