भानु नगरपालिकाको बजेट सार्वजनिक

Posted on: 26 Sep, 2018

असोज १०, दमौली | तनहुँको भानु नगरपालिकाले चालु आर्थिक वर्ष ०७५÷७६ का लागि पारित गरेको बजेट सार्वजनिक गरेको छ । 

असार महिनामै पारित भइसक्नुपर्ने बजेट नगरसभाले असोज महिनामा पारित गरेको हो । भदौको अन्तिम साताबाट मात्रै भानुको नगरसभा शुरु भएको थियो । नगरपालिकाका जनप्रतिनिधिको आन्तरिक विवादले बजेट सार्वजनिकमा ढिलाइ भएको हो । 

भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले नगरसभाबाट पारित भएको रु ७६ करोड ६७ लाख ८६ हजार ६१४ को बजेट सार्वजनिक गर्नुभयो । सार्वजनिक बजेटअनुसार पूँजीगत तर्फ रु २९ करोड १२ लाख १६ हजार ६१४ र चालु तर्फ रु २० करोड २९ लाख ७० हजार रहेको छ । सार्वजनिक बजेटमध्ये रु २७ करोड २६ लाख सर्शत अनुदान तर्फको रहेको नगर प्रमुख गौलीले बताउनुभयो । 

‘कृषि, पर्यटन, उद्योग, साहित्य एवं पूर्वाधार ः सभ्य, समुन्नत एवं समृद्ध भानु निर्माणको आधार’ भन्ने नारालाई आत्मसाथ गरेर बजेट निर्माण गरिएको उहाँको भनाइ छ । थानीमाई, मिर्लुङकोट, कृपेश्वर महादेव मन्दिर, कोटगाउँ पर्यटन क्षेत्र, बाँसपानी होमस्टे, टुटेपानी होमस्टे, रानागाउँ होमस्टेलगायतका पर्यटन क्षेत्रमा बजेट विनियोजन गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!