टुहुरा सात बालबालिकालाई सहयोग जुट्दै

Posted on: 27 Sep, 2018

असोज ११, खोटाङ | बुबाआमा गुमाएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका सात बालबालिकालाई सहयोग गर्ने हातहरु थपिएका छन् । 

गत साउन १८ गते बुबा चन्द्र किरातको करेन्ट लागेर र विसं २०७३ भदौ १९ गते आमा टलकुमारी राईको गर्भपतन गराउनेक्रममा स्वास्थ्यकर्मीको त्रूटीका कारण मृत्यु भएपछि उनीहरूका पाँच छोरी र दुई छोराको बिचल्ली भएको हो । 

सात बालबच्चामध्ये १७ वर्षीया जेठी छोरी बुङातुङ (कक्षा–१२), माइली १४ वर्षीया रिमाबुङ (कक्षा–१०), साइली १२ वर्षीया माहुरबुङ (कक्षा–८), काइली दश वर्षीया इलाबुङ (कक्षा–६), गरी चार बालिका बुलापन्थे माविमा अध्ययनरत छन् । यस्तै, आठ वर्षीय जेठो छोरा नाम्साङहाङ (कक्षा–४), छ वर्षीया निवाबुङ (कक्षा–१) र चार वर्षीय कान्छा छोरा तिम्सुङहाङ स्थानीय पारुहाङ प्राविको (बालकक्षा)मा अध्ययनरत छन् । 

दुई वर्षको अवधिमा बुबाआमा दुवै गुमाएपछि सात बालबालिकाको पालनपोषण तथा शिक्षादिक्षामा समस्या परेको स्थानीयले बताएका छन् । सानै उमेरमा बुबाआमा गुमाएका बालबालिका अहिले आफन्तको शरणमा रहेर अध्ययन गरिरहेका छन् । 

अभिभावकबिहीन बालबालिकाका लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले असोज महिनाको पारिश्रमिकबाट रु २० हजार रकम प्रदान गर्ने घोषणा गर्नुभयो । तत्कालीन नेकपा (माओवादी केन्द्र)का जिल्ला सचिवालय सदस्य किरातको स्मृतिमा यही असोज ४ गते आयोजना गरिएको कार्यक्रममा प्रमुख चाम्लिङले एक बच्चाको अभिभावकत्व पनि ग्रहण गर्ने घोषणा गर्नुभएको छ । 

आफन्तको इच्छाअनुसार सात बालबालिकामध्ये एकको अभिभावकत्व ग्रहण गर्ने घोषणा गरेको प्रमुख चाम्लिङले बताउनुभएको छ । 

बुबाआमा दुवै गुमाएपछि बिचल्लीमा परेका बालबालिकाको पालनपोषण तथा पठनपाठनमा सघाउ पुर्याउन समाजसेवी खडेन्द्र राईको अध्यक्षतामा ११ सदस्यीय सहयोग समिति गठन गरिएको छ । ‘स्व चन्द्र किरात तथा टलकुमारी राई परिवार सहयोग समिति’ नाम दिइएको समितिले रसिद छपाएर आर्थिक सहयोग सङ्कलन अभियान शुरु गरेको कोषाध्यक्ष गणेश कार्कीले बताउनुभयो । 

आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हलेसी तुवाचुङ नगर कमिटीले आयोजना गरेको स्मृति दिवसमा सङ्कलन भएको रकम प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले प्रदान गर्नुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!