निर्मला हत्या प्रकरण: संकलन गरिएको ‘भेजिनल स्वाब’ माथि नै प्रश्न !

Posted on: 30 Sep, 2018

असोज १४, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तका संकलन गरिएको ‘भेजिनल स्वाब’ माथि नै प्रश्न उठ्न थालेको छ । 

निर्मलाको शवबाट संकलित भनिएको ‘भेजिनल स्वाब’ लाई यस घटनाको एक मात्र प्रमाणका रुपमा लिइएको छ । यसबाट प्राप्त डीएनएलाई प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिपसिंह विष्टको डीएनएसँग टेस्ट गर्दा नेगेटिभ रिजल्ट आएपछि उनी छुटेका छन् । यसैगरी, विवादमा मुछिएका निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन विष्टका भतिजा आयुष विष्टको डीएनए पनि नेगेटिभ देखिएको छ  ।

बिष्टमाथि घटनाका अन्य प्रमाणहरु नष्ट गरेको आरोप लागेको छ भने किरण र आयुषमाथि स्थानीयबासीले सुरुदेखि नै शंका गर्दै छानविनको माग गरेका थिए । तर, केन्द्रीय विधिविज्ञान प्रयोगशालामा गरिएको टेष्टमा डिल्लीराज, किरण र आयुषको डीएनए म्याच नभएपछि अनुसन्धान थप जटिल बनेको छ ।

निर्मलाको भेजिनल स्वाबमाथि दुईवटा प्रश्न उठाउन सकिन्छ । पहिलो घटनाका सबै प्रमाण नष्ट गर्ने प्रहरीले राखेको ‘भेजिनल स्वाब’ सक्कली नै हो त ? दोस्रो, सक्कली नै हो भने पनि के यसलाई उचित तवरले संरक्षण गरेर राखिएको थियो ?

निर्मलाकी आमा दुर्गादेवी सबै प्रमाण नष्ट गर्न प्रहरी प्रशासनले ‘भेजिनल स्वाब’ को वैधता जाँच गर्नुपर्ने माग गरिन् |

सबै प्रमाण नष्ट गर्ने प्रहरीले यो चाहीँ सही संकलन गर्‍यो भन्न नसकिने भन्दै उनले ‘भेजिनल स्वाब’ माथी प्रश्न गरेकी छिन |

आफ्नो डीएनएसँग म्याच गराएर छोरीको हो वा होइन भन्ने पुष्टि गर्न सकिने भए त्यसका लागि आफू तयार रहेको उनको भनाई छ ।

तर, फरेन्सिक विज्ञ डा. हरिहर वस्ती भने भेजिनल स्वाबबाट परिक्षण गरिने डीएनए आमाको डीनएनएसँग नमिल्न पनि सक्ने बताउँछन् ।

‘छोराछोरी हो कि होइन भनेर पुष्टि गर्न लिइने डीएनए र भेजिनल स्वाबको डीएनएको सेल अलग हुन्छ,’ उनले भने ।

निर्मला पन्तको बचेको प्रमाण ‘भेजिनल स्वाब’ मात्रै हो ?

बाबु यज्ञराजले पनि प्रमाणका रुपमा संकलित ‘भेजिनल स्वाब’ माथि शंका लागेको भन्दै आवश्यक परिक्षण गरेर भए पनि दोषी पत्ता लगाउनुपर्ने बताए ।

उनले भने, ‘हामीलाई जोमाथि शंका थियो, उनीहरुको रिपोर्ट मिलेन भने कसका लागि सबै प्रमाण नष्ट गरेका हुन्, उनीहरुले भन्नुपर्छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!