बेंसीशहर–चामे सडकखण्ड सञ्चालन

Posted on: 30 Sep, 2018

असोज १४, बेसीशहर | हिमालपारिको जिल्ला मनाङ जाने बेँसीशहर–चामे सडकखण्ड १९ दिनपछि सञ्चालनमा आएको छ । 

गत भदौ २७ गते अविरल वर्षासँगै सडक माथिबाट खसेको पहिरोले अवरुद्ध बँेंसीशहर–चामे सडकखण्ड आज दिउँसोदेखि सञ्चालनमा आएको हो । 

वर्षापछि आएको बाढीपहिरोले मस्र्याङ्दी गाउँपालिकाका विभिन्न स्थानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । बँेंसीशहर–चामे सडकखण्डको वैकल्पिक सडक नहुँदा मनाङका साथै उत्तरी भेगका घेर्मु, ताघ्रिङलगायतका स्थानीयवासीले समस्या भोग्नुपरेको थियो । 

अवरुद्ध सडक नियमित गर्न विस्फोटक पदार्थ र जेनेरेटरसहित ‘कम्प्रेसर’ यन्त्रको प्रयोग गरिएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले बताउनुभयो । डिभिजन सडक कार्यालय दमौलीको प्राविधिक सहयोग, बुटवल पावर कम्पनीद्वारा प्रवद्र्धित विद्युत् आयोजनाको उपकरण प्रयोग गरी रामबजारबाट घोप्टेभीर अर्खलेतर्फको अवरुद्ध सडक खुलाइएको उहाँले बताउनुभयो । चट्टान हटाई विस्फोटन गराउन नेपाली सेना, नेपाल प्रहरीका सुरक्षाकर्मी, डिभिजन सडक कार्यालयका कर्मचारी र विद्युत् आयोजनाका कर्मचारी खटिएका थिए । 

पहिरोमा फसेका १४ सवारीसाधन निकालिएसँगै सडक नियमित भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । बाटो खुलेसँगै मनाङ तथा उत्तरी लमजुङका बासिन्दालाई सहज भएको मस्र्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!