पढाइमा समस्या भोग्दै रोल्पाका अपाङ्गता भएका विद्यार्थी

Posted on: 03 Oct, 2018

असोज १७, रोल्पा | अपाङ्गता भएका विद्यार्थीले उपलब्ध सेवा सुविधाबाट आफूहरूको पठनपाठनमा समस्या हुँदै आएको गुनासो गरेका छन् । राज्यले उपलब्ध गराउँदै आएको सेवा सुविधा अपुग हँुदा आफूहरूको अध्ययन प्रभावित भएको उनीहरूको भनाइ छ । 

शारीरिक तथा मानसिक रूपमा आफूहरु अन्य विद्यार्थीभन्दा फरक रहेकाले राज्यले आफूहरुलाई फरक व्यवहार हुनुपर्ने उनीहरुको माग छ । अध्ययन सामग्री नै आफूहरुका लागि फरक चाहिने भए पनि त्यस्ता सामग्री खरिदमा आवश्यक बजेट नदिँदा निकै समस्या भोग्नुपरेको उनीहरुले गुनासो गरेका छन् । एक पटक खरिद गरिएको सामग्रीबाटै लामो समय काम चलाउनुपर्ने बाध्यता छ, बालकल्याण नमूना मावि लिवाङमा अध्ययनरत कक्षा १० का अपाङ्गता विद्यार्थी चित्रबहादुर डाँगीले भन्नुभयो । 

सरकारले अध्ययन र बासका लागि प्रतिविद्यार्थी प्रतिमहिना रु चार हजार र औषधोपचारका लागि थप रु एक हजार २०० उपलब्ध गराउँदै आएको भए पनि सो रकम अपुग भएको डाँगीले बताउनुभयो । सामानको मूल्य आकाशिएको छ, राज्यले उपलब्ध गराउने बजेट भने निकै कम भएको डाँगीको गुनासो छ । 

कक्षा सञ्चालनका लागि आवश्यक अपाङ्गमैत्री भवन, फर्निचर, शैक्षिक सामग्री, पाठ्यपुस्तकलगायत विद्यार्थीहरुको सेवा सुविधामा समेत कमी भएको भन्दै सहयोगका लागि सरोकारवाला निकायसँग आग्रह गरेका छन् । 

अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण, अध्ययन तथा जीविकोपार्जनमा समेत पहल गर्नुपर्ने उनीहरुको माग छ । स्थानीय तहले अपाङ्गता भएका विद्यार्थीलाई विशेष ढङ्गले हेर्नुपर्ने अपाङ्गता भएका विद्यार्थी लोकेन्द्र महराको भनाइ छ । 

अपाङ्गमैत्री कक्षा कोठाको अभावका साथै पाठ्य सामग्री, सहयोगी सामग्री तथा औषधोपचार र खानपानमा समेत समस्या भोग्दै आएका छाँै, महराले बताउनुभयो । 

विशेष कक्षाका लागि सरकारी स्तरबाट संवेदनशीलता नदेखाउने हो भने कक्षा नै बन्द गर्नुपर्ने बाध्यता हुनसक्ने विशेष कक्षा शिक्षक ओम सेनले बताउनुभयो । उनीहरुका लागि आवश्यक सुविधा र स्रोत साधनको अभाव छ सेनले भन्नुभयो । 

रोल्पामा विसं २०६० देखि दृष्टिबिहीन, सुस्तश्रवण तथा बहिराका लागि विशेष कक्षा सञ्चालन हँुदै आएको छ । जिल्ला सदरमुकाममा रहेका बालकल्याण नमूना मावि लिवाङ र कृष्ण आधारभूत विद्यालय धारापानीले सो कक्षा सञ्चालन गर्दै आएका छन् । हाल सुस्त मनस्थिति पाँच, दृष्टिबिहीन १३ र सुस्तश्रवण १३ गरी ३१ विद्यार्थीले अध्यापन गरिरहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!