रुकुमको त्रिवेणी गाउँपालिकामा तालाबन्दी

Posted on: 03 Oct, 2018

असोज १७, रुकुम पश्चिम | रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । खानेपानीको माग गर्दै वडा नं २ बेतखोलाका स्थानीयले आज बिहान गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् । 

विसं २०३९ देखि उपभोग गर्दै आएको पानीको लाइन काटिएको भन्दै बेतखोलाका स्थानीयवासीले आन्दोलन गर्दै आइरहेका छन् । लाइन जोड्न माग गर्दै बेतखोलाका स्थानीयले सोमबारदेखि गाउँपालिका कार्यालय घेराउ गरेकामा माग पूरा नभएपछि कार्यालयमा तालाबन्दी गरेको बताएका छन् । अब गाउँमा खानेपानीको आपूर्ति नियमित नभएसम्म तालाबन्दी नखोल्ने स्थानीय भुपेन्द्र बोहोराले बताउनुभयो । 


लिखित तथा मौखिक निवेदन र गाउँपालिकामा धर्ना दिँदा पनि माग पूरा नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको उहाँको भनाइ छ । गाउँपालिकाले हिजो भएको छलफलमा खानेपानीको आपूर्ति नियमित गरिदिने मौखिक प्रतिबद्धता गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको थियो । 

तर स्थानीयले भने खानेपानीको आपूर्ति सुचारु नभएसम्मका लागि आन्दोलन फिर्ता नहुने अडान लिँदै गाउँपालिका कार्यालयमै तालाबन्दी गरेका हुन् । वडा नं २ कै चिन्छरे टोलका स्थानीयले बेतखोलामा आएको पाइप काटेर खानेपानीको आपूर्ति बन्द गरिदिएको बेतखोलाका स्थानीयवासीको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!