दाङमा मृत भेटिएका आमा-छोरीको अवस्था रहश्यमय, अझै लास उठेन

Posted on: 05 Oct, 2018

अनिल अधिकारी | असोज १९, काठमाडौँ | दाङको बबइ गाउँपालिका–४ हसनापुरमा बिहिबार मृत अवस्थामा भेटिएका आमा-छोरीको शव अझै उठ्न सकेको छैन । आमा झुन्डिएको अवस्थामा र त्यसको झन्डै २५ फिट तल तीन बर्षीय बालिका मृत अवस्थामा छिन् ।

२४ वर्षीया सरस्वती पुनमगर झुन्डिएको अवस्थामा र उनकी तीन वर्षीया छोरी कृतिका हराएको ५ दिनपछि मृत अवस्थामा भेटिएका थिए । मृतकका आफन्त कर्ण सिङ रानाले साझा सबाललाई बताए अनुसार घटना घटेको स्थान घरबाट २ किलोमिटर पर छ । गत शनिबारनै मृत्यु भईसकेको कारण शव गन्हाईरहेको छ । माइती पक्षले आफूहरु नआईपुगुन्जेल छोरी र नातिनीको शव नउठाउन भनेपछि प्रहरी र स्थानीय वासिन्दाले आलो-पालो बनमै लासहरु कुरेर बसेका छन् । रोल्पा माइतीमा सम्पर्क गर्दा आफूहरु नआउन्जेल कुर्न भनेपछि मृतकहरु जस्तो अवस्थामा थिए त्यहि अवस्थामा छन् । शवलाई घेरा हालेर कुरुवा राखिएको छ । रोल्पाबाट दाङ आउंदै गरेका मृतकका माइतीपक्ष लमहीबाट शुक्रबार अबेर रिजर्भ गरेर आउंदै गरेको छिमेकी नारायण राना मगरले बताएका छन् ।

छिमेकी नारायण राना मगरको अनुसार मिडियामा घटनाबारे गलत समाचार भाइरल भैरहेको भन्दै त्यसको खण्डन गरेका छन् । उनका अनुसार मृतक माइतीतर्फ गएको नभई अर्कै दिशातर्फ बनमा भेटिएका थिए । मृतक सरस्वतीले घटनाको अघिल्लो दिननै पेट दुखेको भन्दै खाना खान मानेकी थिइनन् । पटक-पटक आग्रह गर्दा पनि उनले बिरामी भएको भन्दै खाना खान नआएको र भोलीपल्ट बिहानैदेखि बेपत्ता भएको परिवारजनले बताएको छ । उनीहरु बिहानै जंगलतर्फ लागेको कुरा कसैले नदेखेको बताइएको छ । 

छिमेकी नारायण राना मगरको अनुसार तीन बर्षीय बालिकाले ममीको कोठामा भुत छ भनेर सुत्न नमान्ने गरेको र ठूलीआमासँग सुत्ने गरेको बताएका छन् । बेपत्ता भएको दिन मृतकको कोठामा हेर्दा नयाँ कपडा समेत नलगेको र बालिकाले चप्पल समेत नलगाएको कारण टाढा वा माइत नगएको शंका उतिखेरै भएको थियो । तर परिवारजनले माइतदेखि आफन्त सबै स्थानमा सम्पर्क गरेका थिए । शनिबार हराएका उनीहरुको खोजि आइतवार मात्र गरिएको थियो । बेपत्ता भएको दिन बिरामी सरस्वती कतै धामी-झाक्री कहाँ गएको हुनसक्ने आशंका गरिएको भएपनि आइतबार पनि अत्तोपत्तो नभएपछी गाउँले सहितले खोजि गरेका थिए । त्यसै क्रममा आइतवारनै प्रहरीलाई जानकारी गराइएको थियो । 

५ दिन पछि एक जना बृद्धाले घास काट्न जाँदा एक जना महिला झुन्डिरहेको देखेपछि गाउँमा खबर गरेका थिए । पछी गाउँलेले हेर्दा बिहिबार बेलुका करिव ५ बजे धैराको रुखमा झुन्डिरहेको अवस्थामा आमा र आमा झुन्डिएको स्थान भन्दा केहि तल छोरी मृत भेटाएका थिए । 

घटनाको अवस्था हेर्दा छोरीलाई मारेर फालेको र आफू रुखमा झुन्डिएको हुनसक्ने आशंका गर्न सकिने स्थानियले बताएका छन् । त्यस्तै बालिकाको चप्पल समेत घरमै भेटिएकाले बालिकालाई घरमै मारेर लगेको पनि हुन सक्ने आशंका गरिएको छ । बच्चाको शव कपडाले ढाकिएको अवस्थामा रहेको स्थानीयले बताए । घटनास्थलबाट केहि पर सालको रुखनेर भुजा-चिउरा पोखिएको र प्लास्टिक समेत फेला परेको छ । 

साझा सबाललाई मृतकका जेठाजु नाता पर्ने नारायण राना मगरले बताए अनुसार मृतकका श्रीमान कतारबाट शुक्रबार बेलुका काठमाडौँ आईपुगेका छन् । मृतकका आफन्त लमहीबाट घटनास्थलतर्फ आउदै गरेको कारण माइतिको स्वीकृतिमा मात्र शनिबार बिहानसम्म शव उठ्न सक्ने बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!