विमानस्थल चाँडै सञ्चालनमा आउने: सभामुख महरा

Posted on: 08 Oct, 2018

असोज २२, लमही | सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महराले दाङमा दुई विमानस्थल सञ्चालनमा आउने बताउनुभएको छ । 

आजदेखि नियमित उडान थालेको टरिगाउँ विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभामुख महराले नारायणपुरलाई अन्तर्राष्ट्रियस्तरको तथा तुलसीपुरको टरिगाउँलाई आन्तरिक विमानस्थलका रुपमा विकास गरिने बताउनुभयो । “दुवै विमानस्थल सञ्चालनमा आउँछन्”, उहाँले भन्नुभयो । 

उहाँले तुलसीपुर विमानस्थलमा केही समयमै अस्थायी हवाई इन्धन डिपो सञ्चालनमा ल्याइने बताउनुभयो । यसले विमानस्थल नियमित बनाउन थप मद्दत पुग्नुका साथै भाडामा पनि हेरफेर हुनसक्ने उहाँको भनाइ थियो । स्थायी इन्धन डिपो स्थापना गर्न आफूले पहल थालिरहेको भन्दै महराले स्थायी भएमा अनियमित हुने समस्याको अन्त्य हुने बताउनुभयो । केही निजी एयरलाइन्सले दाङमा पाइलटको तालीम शुरु गर्ने भनी सरकारसँग प्रस्ताव गरेकाले त्यो पारित भएमा हवाईसेवा नियमित सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो । आजदेखि दाङको टरिगाउँ विमानस्थलबाट नियमित हवाईसेवा सञ्चालन हुनेछ । प्रत्येक हप्ताको सोमबार र शुक्रबार हवाईसेवा सञ्चालनमा आउने छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!