अस्पताल निर्माण गर्ने कम्पनीलाई कारबाहीको माग

Posted on: 09 Oct, 2018

कमल घिमिरे ,पाँचथर असोज २३ सम्वन्धित कार्यालय बाट नक्सा पासनै  नगरी जिल्ला अस्पताल पाँचथरको भवन निर्माण भएको भन्दै निर्माण गर्ने कम्पनी अनक हिराचन जेभी काठमान्डौँलाई कारवाहीको माग गरिएको छ ।

५० सैयाको पाँचथर अस्पताल भवन निर्माण थाल्ने शहरी तथा भवन डिविजन कार्यालय इलाम, निर्माण कम्पनि अनक हिराचन जेभी काठमाण्डौंलाई कारबाही गर्न माग गरिएको हो ।

नेपाल पत्रकार महासंघ पाँचथर शाखा अध्यक्ष लवदेव ढुंगानाले फिदिम नगरपालिकालाई पत्र लेखि कारबाहीको माग गरेका हुन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३९ को उपदफा ५ मा नक्सा पास नगरी वा डिजाइन स्टिमेटभन्दा फरक पारी भवन बनाएमा सम्बन्धित स्थानीय सरकारले पाँच लाखसम्म जरिवाना गराउनसक्ने प्रावधान छ ।

सोही बमोजिम नक्सा पास नगरी निर्माण थाल्ने शहरी तथा भवन डिविजन कार्यालय इलाम, निर्माण कम्पनि अनक हिराचन जेभी काठमाण्डौंलाई कारबाही गर्न ढुंगानाले माग गरेका हुन् । उनले नक्सा पास नहुनुको कारण बुझ्न यसअघि पटक–पटक सम्बन्धित निकायमा सूचना माग्दा पनि सूचना प्राप्त नगरेको बताएका छन् ।

ढुंगानाले यसअघि पनि अस्पताल भवनको डिजाइन स्टिमेट, ठेकेदारको प्रतिबद्धता पत्र (विल अफ कन्टिटि) लगायतको सूचना माग गरेका थिए । ढुंगानाले सूचना माग गरेपछि भवन निर्माणको क्रममा लगाइएको बाँसको टेको हटाएर फलामको टेको लगाइएको थियो भने त्यसअघि नराखिएको क्यान्टिलिभर पनि राखिएको थियो । कारबाहीको लागि ढुंगानाले सोमबार पठाएको पत्र नगरपालिकाले सोमबार नै दर्ता नम्बर ३०७ मा दर्ता गरेको छ । फिदिम नगरपालिका–१, मा रहेको जिल्ला स्वास्थ्य कार्यालयको परिषरमा ५० सैयाको पाँचथर अस्पतालको नयाँ भवन निर्माणधिन अवस्थामा रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!