महोत्तरीको त्रिशूलीदेवी मन्दिर खुला

Posted on: 10 Oct, 2018

असोज २४, गौशाला । बडादशैँको घटस्थापनासँगै महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रख्यात त्रिशुली देवीको मन्दिर सर्वसाधारणको दर्शन तथा पूजाआजाको लागि आज बिहानैदेखि खोलिएको छ । 

प्रत्येक वर्ष दशैँको १० दिन मात्रै खुल्ला रहने यो मन्दिरमा घटस्थापनाको दिनदेखि सर्वसाधारणको दर्शन तथा पूजाअर्चनाका लागि यो मन्दिर खोलिएको मन्दिरका पूजारी उपेन्द्र पाठकले बताउनुभयो । 

दशैँभरिका लागि मात्रै खुल्ला रहने यस मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । त्रिशूल धारण गरेकी त्रिशूली देवी भवानीको मन्दिर वर्षभरि खोलिंदैन । 

जलेश्वरनाथ महादेव मन्दिरको त्रिशूलीदेवी महोत्तरी, धनुषा, सिरहा, सर्लाही जिल्लालगायत भारतको सीतामढी र मधुवनी जिल्लामा निक्कै प्रख्यात रहेको छ । यी विभिन्न जिल्ला तथा भारतको विभिन्न ठाउँबाट दशैंँभरिमा त्रिशूलीदेवी मन्दिरमा भक्तजन दर्शनका लागि आउने गर्दछन् । 

दशैँमा त्रिशूलीदेवीको पूजा र दर्शन गर्न नपाएका भक्तजन पुनः वर्षभरि माताको मन्दिर खुल्ने प्रतिक्षा गर्नुपर्ने हुन्छ । दशैँभरि त्रिशूलीदेवी मन्दिरमा ठूलो भीड लाग्ने तथा लाखाँैको भेटी र प्रसाद चढाइने गरिन्छ । त्रिशूली मन्दिरमा भाकल गरेको कुरा पूरा हुने जनविश्वास रहेको र वर्षमा एकपटक मात्रै माताको दर्शन हुने हुँदा सर्वसाधारणको आस्थाको केन्द्र बनेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!