मोरङमा सवारी दुर्घटनामा परि तीनको मृत्यु

Posted on: 12 Oct, 2018

असोज २६, उर्लाबारी | मोरङका दुई छुट्टाछुट्टै स्थानमा गए राति भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । 

बेलवारी नगरपालिका–४स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख १९२० नं को ट्रकले बिपरीत दिशाबाट जाँदै गरेको को१२प ९६८२ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बेलवारी– ११ का ४० वर्षीय मनकुमार राई र पछाडि सवार सोही ठाउँका ४५ वर्षीय वर्णकुमार राईको मृत्यु भएको हो । 

ट्रकको ठक्करबाट गम्भीर घाइते दुई जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिनुभयो । ठक्कर दिने ट्रक र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको छ । 

यस्तै जिल्लाकै कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । ना५ख २१४१ नं को बसले बाटो काट्ने क्रममा ठक्कर दिँदा घाइते भएका कानेपोखरी गाउँपालिका–७ का ५० वर्षीय विष्णु भेटवालको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा गए राति मृत्यु भएको हो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!