३८ क्विन्टल तस्करी प्रकरणः ‘गोरे’ग्याङका नाइकेलाई दुबईबाट नेपाल ल्याइयो

Posted on: 15 Oct, 2018

असोज २९, काठमाडौं | ३३ किलो सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरणमा दुबईमा पक्राउ परेका बेनु श्रेष्ठलाई नेपाल ल्याइएको छ।

अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को रेड नोटिसका आधारमा संयुक्त अरब इमिरेटस् (युएई) प्रहरीले गत साउनमा पक्राउ गरेका बेनुलाई आइतबार काठमाडौं ल्याइएको हो। उनलाई अहिले महानगरीय प्रहरी वृत्त, गौशालाको हिरासतमा राखिएको छ ।

उनलाई लिन जिल्ला प्रहरी कार्यालय मोरङको टोली सोमबार काठमाडौं आउँदै छ। 

काठमाडौंको न्यूरोडस्थित सुन पसलका सञ्चालक रहेका बेनुले नै सनम शाक्य हत्याका मुख्य अभियुक्त टेकराज मल्ललाई तस्करीमा प्रयोग गरेका थिए । बेनुको पसलमा काम गर्ने मल्ललाई उनले नै सुन भरियाका रुपमा प्रयोग गर्न गोरेको जिम्मा लगाएको अनुसन्धानबाट खुलेको थियो । श्रेष्ठमाथि गोरे समूहले ३ वर्षमा गरेको करिब ३८ क्विन्टल सुन तस्करीमा दुबई बसेर सेटिङ मिलाउने गरेको आरोप छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर हुने सुन तस्करीमा लामो समयदेखि सक्रिय रहेका बेनु दुबईमा लुकेर बसेको अवस्थामा पक्राउ परेका थिए। 

दुबईमै पक्राउ परेका श्रेष्ठका व्यावसायिक साझेदार तथा चूडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेतीलाई पनि नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!