चितवनमा सवारी दुर्घटना: एकको मृत्यु, सात घाइते

Posted on: 15 Oct, 2018

असोज २९, काठमाडौं | जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरको केन्द्रीय बस टर्मिनलमा गएराति दुई मोटरसाइकल एक आपसमा ठक्कँर खाँदा एक मोटरसाइकल चालकको मृत्यु भएको हो। 

मृत्यु हुनेमा ना १५ प २०८२ को मोटरसाईकल चालक भरतपुर महानगरपालिका–१४ शिवनगर बस्ने ३५ वर्षीय सन्तबहादुर ताम्राकार रहेका छन्। सोही मोटरसाइकलसँग ठक्कर खाएको ना ५० प ७५२९ नं को चालक सामान्य घाइते भएको प्रहरीले जनाएको छ। उपचारको क्रममा ताम्राकारको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। पूर्व–पश्चिम राजमार्गमा विपरीत दिशाबाट आउँदै गरेका दुई मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ।

यसैगरी पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–३ फिस्लीङ्मा बस दुर्घटना हुँदा चार घाइते भएका छन्। प्रहरीका अनुसार लमजुङ्बाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ३७०५ नं को बस राजमार्गबाट करीब ७० मिटर तल त्रिशूली नदी किनारमा खसेको छ।

गएराति करीब १२ बजे दुर्घटना भएको हो। घाइतेमध्ये एकको अवस्था गम्भीर छ। सबैको उपचार पुरानो मेडिकल कलेजमा भइरहेको छ। त्यस्तै इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा काठमाडौँबाट मुग्लिन तर्फ आउँदै गरेको ना ५ ख २३७८ नं को ट्रक पछाडि लु ४१ प ४८०७ नं को मोटरसाइकल ठोक्किँदा दुईजना घाइते भएका छन्।

घाइते हुनेमा मोटरसाइकलमा सवार गुल्मी अर्खलेका २९ वर्षीय प्रवीण खत्री र २० वर्षीया आयुशा खत्री रहेको प्रहरीले जनाएको छ। गम्भीर अवस्थामा उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटना गएराति ९ः१५ बजे भएको हो। रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!