दशैँको टीका लगाउने साइत राती मात्रै !

Posted on: 19 Oct, 2018

कात्तिक २, डोल्पा । डोल्पाको त्रिपुराकोटमा दशैँको टीका जमरा आफ्नै साइतमा लगाउने गरिन्छ । 

नेपालभर ज्योतिषको साइतअनुसार टीका जमरा लगाउने गरे पनि डोल्पाको त्रिपुराकोटमा भने परापूर्वकालदेखि नै आफ्नै साइतअनुसार दशैंको टीका लगाउने प्रचलन छ । 

नेपालमै प्रसिद्ध शक्तिपीठका रुपमा रहेको त्रिपुरा सुन्दरी मन्दिरमा बेलुकाको नित्यपूजापाठपछि मात्रै सबैले घर घरमा टीका जमरा लगाउन शुरु गर्ने पूजारी देवीकृष्ण उपाध्यायले बताए । 

‘नेपालभर टीकाको एउटै साइत भए पनि त्रिपुराकोटमा भने आफ्नै साइतमा लगाइन्छ, त्रिपुराकोटवासीले मन्दिरमा नित्य पूजाआजाका लागि दशमीको दिन बिहानै प्रत्येक घरबाट जमरा टीका चढाउन लैजाने गर्छन्’, पूजारी उपाध्यायले भन्नुभयो । 

‘दशैँको औँशीको दिनदेखि दशमीको दिनसम्मको नवरात्र अवधिमा पूजाआजाका लागि आएका ब्राह्मण र पूजारीबीच एक अर्कामा जमरा टीका लगाएर बिदाइ गरेपछि मात्र सबैले आ–आफ्नो घरमा शुरु गर्ने प्रचलन अझै कायम छ,’ उनले भने । 

ज्योतिषका अनुसार आज बिहान ९ बजेर ५१ मिनेटमा देशैभर टीकाको उत्तम साइत भए पनि त्रिपुराकोटमा भने आज रातिदेखि मात्र जमरा टीका लगाउन शुरु हुने गर्छ । 

नेपालभर ज्योतिषको साइतअनुसार जमरा टीका लगाउने प्रचलन भए पनि त्रिपुराकोटमा बेलुकीमात्रै टीका जमरा लगाउने प्रचलन नेपालमै नयाँ रहेको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!