नवलपरासीमा आफ्नै साथीबाट एकको हत्या, एकजना गम्भीर - यसरी भयो हत्या

Posted on: 23 Oct, 2018

कात्तिक ६, परासी | नवलपरासीमा आफ्नै साथीको समुहद्वारा एक पुरुषको हत्या भएको छ भने अर्का एक जना गम्भीर घाईते भएका छन् । पुरानो रिसइबीको बिषयलाई लिएर उक्त समुहले पाल्हीनन्दन गाउँपालिका १ सुनरी बस्ने ३६ वर्षीय गणेश मल्लाहको हत्या गरेको हो । मल्लाह सो समुहकै एक सदस्य हुन् । त्यस्तै पाल्हीनन्द गाउँपालिका ३ कुश्मा बस्ने ३६ वर्षीय नर्वदेश्वर चौहान भने गम्भीर घाइते भएका छन् ।

व्यापारको सिलसिलामा उनीहरुबीच एक महिना अघि विवाद भई झगडा समेत भएको थियो । त्यसै झगडाको बिषयलाई लिएर मल्लाह र चौहानसँग बदला लिने निहुँमा उनीहरुमाथि सांघातिक आक्रमण भएको प्रहरीले जनाएको छ । आक्रमणमा परि मल्लाहको मृत्यु भएको छ भने चौहान गम्भीर घाईते भएका छन् । घाइते चौहानलाई जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा उपचार गराईरहिएको छ । मल्लाहको हत्या गरेर फरार रहेकाहरु आक्रमणकारीहरुलाई प्रहरीले खोजि कार्य जारी राखेको छ । 

हत्या भएको दिन अर्थात हिजो राती ९ बजे सरावल गाउँपालिका ६ बडहरा दुबौलियामा रहेको घाइते चौहानको खेती हेरेर मल्लाह र चौहान घर फर्किदै थिए । दुवैजना खेत गएको मौका छोप्दै व्यापारी साथीहरुले प्रतापपुर गाउँपालिका ४ बर्दघाटे पुलमा उनीहरुलाइ भेटेर कुरा गर्ने भनि बोलाएका थिए । 


आक्रमण गर्ने सुमहले बर्दघाटे पुलमा बोलाएर मल्लाह र चौहानलाई मार्ने योजना बनाएका थिए । बर्दघाटे पुलमा मल्लाह र चौहान आएपछि आफ्नो कुरामा अल्झाउँदै पछाडीबाट चौहानको टाउकोमा रड प्रहार भएको थियो । रड प्रहार भएपछि चौहान बेहोस भए । लगत्तै आक्रमणकारीहरुले मल्लाहलाई पनि रडले टाउकोमै हानेर हत्या गरेका थिए । 

राती ११ बजे चौहानलाइ होस आयो र उनि घटनास्थलबाट भागेर घर आए । चौहानले नै सबै घटना प्रहरीलाई सुनाएका थिए । घटना पछि प्रहरीले मल्लाह शवको पोष्ट मार्टमका लागि जिल्ला पृथ्वीचन्द्र अस्पतालमा ल्याएको थियो ।

व्यापारकै लागि मल्लाहले करिब ४ लाख रुपैयाँ आफना साथीहरुलाई दिएका थिए, जसको हिसाबकिताब नपाएपछि सहानी र उनका साथीहरुबीच विवाद शुरु भएको थियो । यस बिषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!