घर नबनाउनेलाई रकम फिर्ता गर्न ताकेता

Posted on: 24 Oct, 2018

कात्तिक ७, पर्वत | विनाशकारी भूकम्पले क्षति पुगेको भन्दै लाभग्राहीको सूचीमा परेर पनि पहिलो किस्ता रकम लगेर घर नबनाएकालाई रकम फिर्ता लिन ताकेता गरिएको छ । 

अहिलेसम्म पनि घर बनाउन शुरु नगरेका र घर बनाउन नचाहेकालाई पहिलो किस्ताबापत लगेको रकम फिर्ता गर्न ताकेता गरिएको हो । भूकम्पबाट पूर्ण क्षति पुगेका जिल्लाका पाँच हजार २६९ घरमध्ये हालसम्म एक हजार ४०० घर मात्र निर्माण भएका छन् । 

घर निर्माण गरिसकेका एक हजार ४०० लाभग्राहीले अहिलेसम्म दोस्रो किस्ताको रकम समेत बुझिसकेका छन् । पहिलो किस्ताको रकम लगेका तीन हजार ४०० नौ जनाले अहिले पनि घर निर्माण गरेका छैनन् । 

पूर्ण क्षतिमा परेका लाभग्राहीमध्ये हालसम्म चार हजार ८०९ जनाले पहिलो किस्ताबापतको रकम रु ५० हजार बुझिसकेका छन् भने ४६० जनाले पहिलो किस्ताको रकम समेत बुझेका छैनन् । लाभग्राहीलाई पहिलो किस्ताबापतको रकम रु २४ करोड चार लाख ५० हजार भुक्तानी गरिसकिएको छ भने दोस्रो किस्ताबापतको रकम रु २१ करोड घर बनाएकाले भुक्तानी लगिसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ पर्वतले जनाएको छ । 

पर्वतमा तेस्रो किस्ताको रकम भने अझैसम्म कसैले पनि माग गरेका छैनन् । घर सम्पन्न भइसकेपछि पाउने तेस्रो किस्ता लिनका लागि कसैको पनि माग नआएको आयोजना कार्यान्वयन इकाई प्रमुख जगदीश शर्माले जानकारी दिनुभयो । उहाँले जिल्लामा तेस्रो किस्ताको रकमका लागि माग भई आएमा तत्काल दिन सकिने अवस्था रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!