निर्मला हत्या प्रकरण: एसपी विष्टले बुझाए अन्तिम स्पष्टीकरण

Posted on: 24 Oct, 2018

कात्तिक ७, काठमाडौं | निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा मुछिएका कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख निलम्बित प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टले प्रहरी प्रधान कार्यालयमा स्पष्टीकरण बुझाएका छन् ।

गृहसचिव प्रेमकुमार राईको निर्देशनानुसार प्रहरी प्रधान कार्यालयलाई निलम्बित एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई स्पष्टीकरण सोध्न निर्देशन दिइएको थियो । 

प्रहरी प्रधान कार्यालयका अनुसार एसपी विष्टले मंगलवार स्पष्टीकरण सोधिएको पत्र बुझेका थिए । २४ घण्टामा स्पष्टीकरण बुझाउनुपर्ने व्यवस्थाअनुसार विष्टले बुधवार मध्याह्न प्रहरी प्रधान कार्यालयमा स्पष्टीकरण बुझाएका हुन् । 

निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्राप्त प्रमाण नष्ट गरेको अभियोगमा गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयले विष्टमाथि छानबिन थालेको थियो । प्रहरी प्रधान कार्यालयले विष्टले नियतवश प्रमाण नष्ट गरेको भन्दै प्रहरी नियमावली अनुसार बर्खास्तगीका लागि गृह मन्त्रालयमा पत्र पठाएको थियो । 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पठाएको पत्रअनुसार गृहसचिव प्रेम कुमार राईले आइतवारदेखि निलम्बित एसपी विष्ट र इन्सपेक्टर भट्टलाई बर्खास्तगीको प्रक्रिया अगाडि बढाएका थिए । 

गृह मन्त्रालय स्रोतका अनुसार विष्ट र भट्टले बुझाएको स्पष्टीकरण अध्ययन गरेर मात्रै उनीहरूको बर्खास्तगीको विषयमा निर्णय लिइने छ ।    

यस बिषयमा तपाइको प्रतिक्रिया...!