कञ्चनपुर: मोटरसाइकल चोरीको आरोपमा दुई पक्राउ, चक्कु प्रहारबाट युवक घाइते

Posted on: 25 Oct, 2018

कात्तिक ८, कञ्चनपुर (रासस) | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का दुई युवालाई मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वर्ष १९ का जीवन धानुक र वर्ष २१ का दिप्पु भनिने दिपेश बोहरा रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । 

स्थानीय रुकुमसिंह ठगुन्नाको पल्सर मोटरसाइकल र लालसिंह महराको सुपरस्पलेण्डर मोटरसाइकल चोरी गरेको आरोपमा दुवैलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । 

जीवनलाई भीमदत्तनगरबाट र दिपेशलाई गाउँबाटै नियन्त्रण लिई प्रहरीले हिरासतमा राखेको छ । जीवनले केही दिनअघि मात्रै भारतीय घुमन्ते व्यापारीबाट रु दुई हजार नगद र मोबाइल फोनसेट लुटेका थिए । पक्राउ परेका दुवैमाथि चोरीसम्बन्धी मुद्दा चलाइने बताइएको छ । 

चक्कु प्रहारबाट युवक घाइते 

कञ्चनपुरको बेलडाँडी गाँउपालिका–२ खल्लाका १८ वर्षीय वीरेन्द्र राना पेटमा चक्कु प्रहारबाट घाइते भएका छन् । आपसी विवादमा १९ वर्षीय कालु राना भनिने दिनेश रानाले गए राति वीरेन्द्रको पेटमा चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । चक्कु प्रहारबाट गम्भीर घाइते भएका रानाको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ । चक्कु प्रहार गर्ने कालुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

आगलागीबाट घर जल्यो 

कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ भानुभक्तटोलका दलबहादुर सुनारको दुई तले टायलले छाएको घरमा गए राति आगलागी भएको छ । आगलागीबाट घर पुरै जलेको छ । पीडित परिवारका अनुसार घरभित्र राखिएको अन्न, लत्ताकपडा र महत्वपूर्ण कागजपत्र पुरै जलेर नष्ट भएको छ । 

नगरपालिका कार्यालयको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रण भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!