युवाको सहयोगमा सौर्य बत्ती, बस सेवाले स्थानीयवासीलाई सहज

Posted on: 25 Oct, 2018

कात्तिक ८, बलेवा (रासस) | बागलुङको गल्कोट नगरपालिकाका चार धार्मिकस्थलमा सौर्य ऊर्जा जडान गरिएको छ । सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाको सहयोगमा धार्मिकस्थलमा सौर्य ऊर्जा जडान गरिएको हो । घुम्टे युवा परिवारले सहयोगस्वरुप उपलब्ध गराएका सौर्य ऊर्जाका सामग्री धार्मिकस्थललाई हस्तान्त्रण गरिएको थियो । 

गल्कोट नगरपालिका–७ मा रहेका धार्मिकस्थललाई अँध्यारोमुक्त बनाउनका लागि घुम्टे युवा परिवारले सहयोग गरेको संस्थाका सल्लाहकार टीकाबहादुर थापाले बताउनुभयो । रोजगारीको सिलसिलामा जापानमा रहेका गल्कोटे युवाले आफ्नो मासिक पारिश्रमिकको केही अंश जोगाएर धार्मिकस्थलमा सौर्य ऊर्जा जडानका लागि सहयोग गरेका थिए । सामाजिक कामको लागि स्थापना भएको युवा परिवारमार्फत जापानमा रहेका युवाले विभिन्न शीर्षकमा सहयोग गर्दै आएका छन् । 

संस्थाले आफ्नो केन्द्रीय कार्यालयमा समेत सौर्य ऊर्जा जडान गरेको छ । जापान शाखाले पठाएको रु एक लाख २५ हजार खर्चेर चार धार्मिकस्थल र संस्थाको कार्यालयमा सौर्य ऊर्जा जडान गरिएको छ । 

बस सेवाले स्थानीयवासीलाई सहज 

बागलुङको बलेवा क्षेत्रमा यात्रुवाहक बसले सेवा दिन थालेपछि स्थानीयवासीलाई सहज भएको छ । बागलुङ नगरपालिकाले नगरका मुख्य सडकको स्तरोन्नति गरी सहज यातायात सञ्चालन गर्ने योजनाअनुसार बलेवा क्षेत्रमा यात्रुवाहक बसले सेवा दिन शुरु गरेका हुन् । 

यात्रुवाहक बसले सेवा दिन थालेपछि निजी सवारी तथा पिकअप जिपमा महङ्गो भाडा तिरेर यात्रा गर्नुपर्ने बाध्यता टरेको स्थानीयवासीको भनाइ छ । बलेवा भैरवस्थानदेखि बागलुङ बजारसम्म आउनका लागि रु २५० देखि ३०० तिर्ने यात्रुले बस सेवा सञ्चालनमा अएपछि रु १२० मा यात्रा गर्न पाएका छन् । 

बिहान बलेवाको भैरवस्थानबाट छुट्ने बस बेलुका बागलुङ बजारदेखि छुट्ने रुट कायम गरिएको छ । बस सेवा सञ्चालनमा आएपछि बलेवा क्षेत्रका नारायणस्थान, पैयुपाटा, अमलाचौरका स्थानीयलगायत बलेवाको प्रसिद्ध भैरवस्थान मन्दिरसम्म पुग्ने दर्शनार्थीका लागि सहज भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!