दुर्घटनामा पत्रकारसहित तीनको मृत्यु

Posted on: 27 Oct, 2018

कात्तिक १०, काभे्रपलाञ्चोक | काभे्रपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ ढकालथोकमा आज दिउँसो जीप दुर्घटना हुँदा पत्रकार जीवन पराजुलीसहित दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् । 

आजै पाँचखालमा भएको अर्को दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ । 

हेलम्बु राजमार्गअन्तर्गत ढकालथोकमा बा ३ च २८७ नं को ल्याण्डक्रुजर जीप सडकबाट पाँचसय मिटर तल खस्दा धुलिखेलस्थित रेडियो गौरवका स्टेशन मेनेजर मण्डन देउपुर नपा–४ का २५ वर्षीय जीवन पराजुली र नमोबुद्ध नपा–१० का ४४ वर्षीय विनोद कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार दुर्घटनामा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुशील भण्डारी, पनौतीका प्रदीप बोगटी, धनराज पुरी र विनोद गौतम घाइते हुनुभएको छ । घाइतेमध्ये भण्डारीको अवस्था गम्भीर छ । घाइतेलाई धुलिखेल अस्पतालमा ल्याइएको छ । 

आजै अपराह्न ४ बजे पाँचखाल नगरपालिका–६ तीन पिप्ले बजारमा धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको बा ३ क ६४३ नं को टिपरले सोही दिशातर्फ जाँदै गरेको १३५९ नं को ‘अनटेष्ट’ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय ५६ वर्षीया रञ्जना गौतमको मृत्यु भएको छ । 

दूर्घटनामा उनका श्रीमान मोटरसाइकल चालक कमल गौतम घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!