‘कविगुरु’ को स्मृतिमा निःशुल्क कान शिविर सम्पन्न

Posted on: 27 Oct, 2018

सास । कात्तिक १०, बर्दिया ।

बर्दियाली साहित्यिक, धार्मिक तथा सामाजिक व्यक्तित्व ‘कविगुरु’ यज्ञ प्रसाद सुवेदीको छैठौं वार्षिक स्मृति एवम् ८१औं जन्म दिनको सन्दर्भमा जेष्ठ नागरिक तथा सर्वसाधारणहरुका लागि एक दिने निःशुल्क कान शिविर शनिबार सम्पन्न गरिएको छ ।


‘कविगुरु’ यज्ञ प्रसाद सुवेदी प्रतिष्ठान बर्दियाको आयोजना तथा श्री पशुपति शान्ति शिवालय, सुदामा वृद्ध सत्सङ्ग समिति बढैयाताल –८, पशुपतिबजार बर्दियाको समन्यव र ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा ब्रिनोज कान स्वास्थ्य स्यहार केन्द्र नेपालगञ्ज शाखा कार्यालय गुलरियाको प्राविधिक सहयोगमा शिविर सम्पन्न गरिएको हो ।

शिविरको उद्घाटन गर्नुहुँदै बढैयाताल गाउँपालिका उपाध्यक्ष दीपा गौतमले कविगुरुको योगदान बढैयातालबासीको लागि अनुकरणीय रहेको स्मरण गर्नुहुँदै वहाँको साथमा रहेर आफूले पनि आध्यात्मिक ज्ञानज्ञुनका कुराहरु सिक्न पाएको स्मरण गर्नुभयो । यस्ता सामाजिक कार्यहरुका लागि आगामी दिनमा गाउँपालिकाले पनि सहयोग गर्ने वचनवद्धता व्यक्त गर्नुभयो । यसैगरी विशेष अतिथिका रुपमा रहनुभएका वडा नं. ८ का अध्यक्ष सुन्दरमान श्रेष्ठले कविगुरुको सम्झनामा यस्तो पुण्य कार्य गर्ने सुवेदी परिवारबाट आजको समाज र सम्पूर्ण घरपरिवारबाट संस्कार र आदर्श सिक्नुपर्ने कुरा बताउनुहुँदै आफुले पनि कविगुरु यज्ञप्रसाद सुवेदीका भजनहरु तथा प्रवचनहरु सुनेको स्मरण गर्नुभयो । साथै वडाहरुमा यस प्रकारका सामाजिक कार्यहरु गर्दा वडासँग समन्वय गर्नुपर्ने बताउनुहुँदै वडा तथा गाउँपालिकाको तर्फबाट पनि कुनै पाटोमा सहकार्य गर्न सकिने बताउनुभयो ।

 

यसैगरी सामाजिक अध्येता अयोध्या प्रसाद श्रीवास्तवले समाजमा मानिस जन्मेर मर्नु नै छ तर त्यो मानिस मात्र मानिस हो जसले मानिको सेवा गर्दछ भन्नुहुँदै, ‘सेवाको भावना नभएको मानिस पशु सरह हुने कुरा औंल्याउनुभयो ।’ 

यसैगरी ब्रिनोज कान स्वास्थ्य स्यहार केन्द्र नेपालगञ्जका प्रमुख पुरण थारुले यसरी सेवाको कार्यमा जुट्न पाउँदा खुशी लागेको बताउनुयभो भने शाखा कार्यालय गुलरियाका प्रमुख कान स्वास्थ्य अधिकृत दिपक वि.सी. ले आफूूले पनि आफ्ना पिता तथा ससुरा बुबाको सम्झनामा नियमित रुपमा यसरी शिविर सञ्चालन गर्ने गरेको स्मरण गर्नुहुँदै यसरी परोपकारी कार्यमा समर्पित भएका कार्य गर्न पाउँदा निकै आनन्द लागेका बताउनुहुँदै यसरी नै सेवा दिनका लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र नेपालगञ्जको शाखा गुलरियामा सञ्चालनमा आएको बताउनुभयो । 


कविगुरु यज्ञ प्रसाद सुवेदी प्रतिष्ठानका संरक्षक तथा  कविगुरु धर्मपत्नी भीमा सुवेदीको सभाध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सहजीकरण कमलनाथ सुवेदीले गर्नुभएको थियो । 

शिविरमा कूल १ सय ३९ जना मध्ये ७० जना पुरुष, ६९ जना महिलाहरुको कान परीक्षण गरिएको थियो । जसमध्ये ८४ जना जेष्ठ नागरिकहरुको कान परीक्षण गरिएको थियो । यसरी परीक्षण गरिएकाहरुमध्ये ७ जनालाई अपरेसनका लागि, ६० जनालाई विशेष फलोअप उपचारका लागि रेफर गरिएको छ भने १५ जनालाई कान सुन्ने उपकरण लगाउने पर्ने सल्लाह दिइएको थियो । शिविरमा २३ जना बालबालिकाहरु र ३२ जना युवायुवतीहरुको समेत कान परीक्षण तथा औषधि वितरण गरिएको थियो । 

शिविरमा अत्याधुनिक प्रविधिको प्रयोग (अडियोग्राम) गरी कानको श्रवण शक्ति समेत परीक्षण गरिएको थियो । 

जिल्लाको सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक तथा साहित्यिक क्षेत्रमा क्रियाशील रहनुभएका ‘कविगुरु’ यज्ञप्रसाद सुवेदीको मुटुमा समस्या देखिएपछि वि.सं. २०५२ सालदेखि निरन्तर १८ वर्षसम्म पेस मेकरबाट जीवन चलेकोमा अन्ततः वि.सं. २०७० साल कात्तिक १ गते भौतिक रुपमा विदा हुनुभएको थियो । 

साहित्यका विभिन्न विधाहरुमा वहाँका १४ ओटा साहित्यिक कृतिहरु प्रकाशित रहेका छन् भने अन्य दर्जनौं अप्रकाशित पाण्डुलिपीहरु प्रकाशनको क्रममा रहेका छन् । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!