अन्नपूर्ण पदमार्गमा झोलुङ्गे पुल निर्माण

Posted on: 28 Oct, 2018

कात्तिक ११, पर्वत | अन्नपूर्ण पदमार्गमा पर्ने कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित साम्रोङखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । अन्नपूर्ण पदयात्रा मार्गमा घुम्न जाने पर्यटकको सहजताका लागि पुल निर्माण गरिएको हो । हङकङ निवासी व्यवसायी कादुरी परिवारको सहयोगमा पुल निर्माण गरिएको हो । पुल नहुँदा पर्यटकलाई झण्डै एक घण्टा लामो दूरीमा ओरालोउकालो गर्नुपर्ने बाध्यता रहेको थियो । 

पुल २८७ मिटर लामो तथा १३५ मिटर उचाइको रहेको छ । 

निर्माण समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष हिमबहादुर गुरुङले वर्षौँदेखिको आफूहरुको सपना पूरा भएको भन्दै सहयोगी कादुरी संस्थाप्रति धन्यवाद अर्पण गर्नुभयो । उहाँले पुल निर्माणमा करीब रु एक करोड खर्च भएको जानकारी दिनुभयो । 

उक्त पदमार्गमा वार्षिक रूपमा एक लाखसम्म बाह्य पर्यटक राउण्ड अन्नपूर्ण पदयात्राका लागि जाने गरेका छन् । 

प्रवासीद्वारा बाढीपीडितलाई घर निर्माण 

रोजगारीको सिलसिलामा नेदरल्यान्डमा रहेका पर्वतेलीको सहयोगमा जलजला गाउँपालिका–७ धाइरिङ लस्तीका पहिरोपीडितका लागि घर निर्माण गरिएको छ । गत साउन १ गते रातिको वर्षातका कारण पहिरोले क्षति पुर्याएर विस्थापित जलजला गाउँपालिका–७ लस्तीकी लक्ष्मी शर्माको घर निर्माण गरी हस्तान्तरण गरिएको हो । 

धाइरिङ वास्वोट घर भई रोजगारीको सिलसिलामा नेदरल्यान्डमा रहनुभएका नारायण आचार्यको विशेष पहलमा नेदरल्याण्डमा रहेका पर्वतवासीको आर्थिक सहयोगमा शौचालयसहित तीन कोठे घर निर्माण गरिएको हो । नेदरल्यान्डवासीको रु तीन लाख २९ हजार र स्थानीय महिला समूह तथा व्यक्तिको श्रमदाना गरी रु पाँच लाखभन्दा बढीको लागतमा घर निर्माण गरिएको हो । 

शनिबार आयोजित कार्यक्रममा जलजला गाउँपालिका अध्यक्ष रामकृष्ण मल्ल, पर्वत समाज नेदरल्यान्डका वरिष्ठ सल्लाहकार गुणनिधि रिजाल, पर्वत समाज नेदरल्यान्डका अध्यक्ष नरबहादुर रोकाले पहिरोपीडित शर्मालाई घरको साँचो हस्तान्तण गर्नुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!