प्रदेश नं ५ मा समुदाय–प्रहरी साझेदारी कार्यक्रम शुरु

Posted on: 28 Oct, 2018

बुटवल, ११ कात्तिक | समुदाय–प्रहरी साँझेदारी कार्यक्रम प्रदेश नं ५ मा आजदेखि शुरु भएको छ । अपराध रोकथाम, सामाजिक विकृति विसङ्गतिविरुद्ध जनचेतना फैलाउने, सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि गर्ने उद्देश्यका साथ सो कार्यक्रम शुरु गरिएको हो । 

प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले नागरिकसँगको सम्बन्धलाई सुमधुर र विश्वसनीय बनाउने दायित्व प्रहरीको भएको चर्चा गर्दै कानूनको उल्लङ्घन गर्नु अपराध हुने बताउनुभयो । प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले स्थानीय सरकारको नेतृत्वमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिँदै विद्यालय र सम्पर्क कार्यालयको सुझावमा पाठ्यक्रम निर्धारण गरिएको बताउनुभयो । 

जिल्ला समन्वय समितिका प्रमुख एकराज विश्वकर्मा, प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानून सचिव डा मानबहादुर विके, बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमा आचार्य, मानवअधिकार तथा शान्ति समाज नेपालका केन्द्रीय सचिव गोविन्द खनाललगायतले समुदाय प्रहरी साझेदारी कार्यक्रमले जनचेतना वृद्धि गर्न सहयोग मिल्ने बताउनुभयो । 

सो कार्यक्रमबाट सुरक्षा व्यवस्थापनमा जनसहयोग वृद्धि गर्ने, सङ्गठित अपराधको सञ्जाल निस्तेज र नियन्त्रण गर्ने, राष्ट्रिय सुरक्षा र सरोरकार विषयमा राष्ट्रिय सहमति बढाउने र कानूनको शासनप्रति सम्मान प्रर्वद्धन तथा न्यायपूर्ण शासकीय प्रणालीको विकास हुने बताइएको छ । सातसय त्रिपन्न स्थानीय तहसम्म पुग्ने गरी १० हजार सामाजिक संस्था, ७५ लाख विद्यार्थी, ३६ हजार विद्यालय, चार लाख शिक्षक, ७५ हजार प्रहरी र ४० लाख अभिभावक सो कार्यक्रममा सहभागी हुने बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!