एक वृद्धा घरभित्रै शंकास्पद अवस्थामा मृत फेला

Posted on: 30 Oct, 2018

कात्तिक १३, कास्की | कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ मा एक वृद्धा घरभित्र मृत अवस्थामा फेला परेकी छिन् । 

नयाँपुलकी ८० वर्षीया कौशिला गुरुङको सोमबार साँझ घरभित्र शंकास्पद अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो । 

घटनास्थलको प्रकृति, मृतकको टाउकोलगायत शरीरका विभिन्न भागमा चोट देखिएको र घरको मूल ढोकामा बाहिरबाट ताल्चा लगाइएकाले उनको हत्या भएको आशङ्का गुरुङले गर्नुभयो । 

आइतबार राति भएको घटनाको बारेमा सोमबार साँझमात्र जानकारी भएको थियो । जेठा छोरा चित्रबहादुरसँग बस्दै आउनुभएकी कौशिला छोरा घरमा नभएको दिन उक्त घटना घटेको सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी दिनुभयो । गुरुङको साथमा भएका गरगहना लुट्ने नियतले उहाँको हत्या भएको हुनसक्ने प्रारम्भिक आँकलन प्रहरीको छ । 

मृतकको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!