प्रमको स्वास्थ्य स्थितिबारे सभामुख र संयोजक भट्टराईबाट जानकारी

Posted on: 30 Oct, 2018

कात्तिक १३, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी सभामुख कृष्णबहादुर महराले स्वास्थ्यलाभको कामना गर्नुभएको छ । 

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख बिहान ८ बजे त्यहाँ पुग्नुभएको थियो । भेटपछि सभामुख महराले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएको चिकित्सकले आफूलाई जानकारी दिएको बताउनुभयो । 

यसैबीच, प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिन नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पनि आजै बिहान शिक्षण अस्पताल महाराजगञ्ज पुग्नुभएको थियो । 

प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी दिँदै प्राडा अरुण सायमीले भन्नुभयो, “प्रधानन्त्री ओलीले बिहानी खाजा खानुभयो, दाह्री काटेर चिटिक्क परेर बस्नुभएको छ, भेट्न आएका शुभेच्छुकसँग सजिलोसँग कुराकानी गर्नुभएको छ ।” 

प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे अस्पतालले बिहान १० बजे उपचारमा संलग्न चिकित्सकको टोलीमार्फत सञ्चारकर्मीलाई जानकारी गराएको थियो । प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी लिन र स्वास्थ्य लाभको कामना गर्न पार्टीका नेता एवं कार्यकर्ता र शुभेच्छुकको अस्पताल परिसरमा बाक्लो उपस्थिति रहेको छ । 

छातिमा सङ्क्रमण देखिएको कारण उपचारका लागि प्रधानमन्त्री ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा हिजो सोमबार भर्ना हुनुभएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!