पर्वतका सबै स्थानीय तहमा फोन र इन्टरनेट विस्तार गर्ने

Posted on: 31 Oct, 2018

कात्तिक १४, पर्वत । विगतमा पर्वत सदरमुकाम कुश्मामा मात्रै सीमित नेपाल टेलिकमको ल्यान्डलाइन टेलिफोन र एडीएसएल इन्टरनेट सेवा अब ग्रामीण क्षेत्रमा विस्तार हुन लागेको छ । सेवा विस्तार गर्न जिल्लाका सबैजसो स्थानीय तहमा प्राविधिक टोली र उपकरण र्पुयाइसकेको टेलिकमको पर्वत शाखाले जनाएको छ ।

स्थानीय तहको व्यवस्था कार्यान्वयनसँगै गाउँ गाउँमा खुलेका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा व्यावसायिक कारोबारका लागि ल्यान्डलाइन फोन र इन्टरनेटको माग छ । मागअनुसार स्थानीय तह कार्यान्वयन भएको डेढ वर्षको अवधिमा जिल्लाका दुई बाहेक सबै स्थानीय तहमा फोन र इन्टरनेटको सेवा विस्तार भइसकेको शाखाका निमित्तप्रमुख केशव भुसालले बताउनुभयो ।

उहाँका अनुसार पैयुँ, मोदी र जलजला गाउँपालिकामा टेलिकमका सबै सुविधा र्पुयाइएको छ । फलेवासको मुख्य बजार देवीस्थान, खानीगाउँ, राहाले, कमलेबजार र मुडिकुवा लगायतमा दुई सयवटा ल्यान्डलाइन फोन वितरण गर्न लागिएको उहाँले बताउनुभयो । यसअघि टेलिकमले पैयुँ, मोदी र जलजला गाउँपालिकामा समेत ल्यान्डलाइन सेवा विस्तार गरिसकेको जनाएको छ । सदरमुकाम कुश्मामा पुरानै सेवा छ । टेलिकमका अनुसार कुश्मामा ल्यान्डलाइन प्रणालीको फोनका करिब १ हजार ५ सय उपभोक्ता छन् । त्यस्तै पैयुँमा दुई सय, जलजलामा १ सय ५० र मोदीमा तीन सय लाइन फोन विस्तार गरेको छ ।

ल्यान्डलाइन टेलिफोनसँगै एडीएसएल इन्टरनेट वितरण गर्ने भएकाले उपभोक्ताको माग बढेको टेलिकमका प्राविधिक बताउँछन् । विदेशिएका परिवारका सदस्य र टाढा रहेका आफन्तसँग बातचित गर्न सहज हुने भएपछि अहिले गाउँमा फोन लाइन जडानमा चासो बढेको छ । देवीस्थानका पूर्णकुमार श्रेष्ठले घरघरै टेलिफोन र इन्टरनेट आउने खबरले खुसी लागेको बताउनुभयो ।

टेलिकमले ल्यान्डलाइन सेवा नपुगेका गाउँमा समेत वाईम्याक्सको इन्टरनेट विस्तार धमाधम भइरहेको जनाएको छ । सयवटाभन्दा बढी टेलिफोन र इन्टरनेट सेवा माग भएमा ल्यान्डलाइन सेवा विस्तार गरिने टेलिकमले जनाएको छ । त्योभन्दा कम माग भएमा ताररहित वाईम्याक्स इन्टरनेट विस्तार गर्ने योजना रहेको भुषालले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!