कक्षा ११ र १२ मा गणित विषय नहट्ने, अर्को शैक्षिक सत्रबाट यस्तो पाठ्यक्रम लागु हुने

Posted on: 31 Oct, 2018

कात्तिक १४, काठमाडौं । सरकारले कक्षा ११ र १२ को पाठ्यक्रमबाट गणित विषय नहटाउने भएको छ । अब तीन वटै विज्ञान (बायोलोजी, फिजिक्स र केमेस्ट्री) विषयका विद्यार्थीहरुले चाहेमा गणित विषय पढ्न पाउने भएका छन् ।

मानविकी र व्यवस्थापन संकायमा भने पहिलेदेखि नै ऐच्छिक विषयको रुपमा गणितलाई राखिएको छ ।

यसअघि पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैठकले कक्षा ११ र १२ मा सबै समूहका विद्यार्थीहरुले अध्ययन गर्न पाउने गरी प्रस्ताव गरिएको प्रायोगिक गणित विषय हटाउने प्रस्तावसहितको प्रारुप तयार पारेको थियो । सो प्रारुपमा अनिवार्य गणितलाई ऐच्छिक बनाइएको थियो ।

बायोलोजी र गणितलाई एउटै समूहभित्र राखेर कुनै एउटामात्र रोज्न पाउने व्यवस्था गरिँदा गणित र बायोलाजी दुवै पढ्न चाहने विद्यार्थीहरुले एउटामात्र विषय रोज्नुपर्ने बाध्यता थियो । गणितले तार्किक क्षमता वृद्धि गर्ने भएकाले यो विषयलाई पाठ्यक्रमबाट हटाइँदा अरु विषयहरुलाई पनि असर पर्ने भन्दै सरोकारवालाले विरोध गरेपछि सरकारले नहटाउने निर्णय गरेको हो ।

हाल कक्षा ११ र १२ विद्यालय तहमा गाभिएको छ । माध्यमिक तहमा कक्षा ९ देखि १२ सम्मलाई राखिएको छ । अहिले नयाँ पाठ्यक्रम तयार पार्ने काममा पाठ्यक्रम विकास केन्द्र व्यस्त छ ।

माध्यमिक शिक्षाका लागि अर्को शैक्षिक सत्रबाट नयाँ पाठ्यक्रम लागू गर्ने गरी काम भइरहेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक डा. लेखनाथ पौडेलले बताए । 

संशोधित प्रारुपमा विज्ञान विषयहरु पढ्ने विद्यार्थीहरुलाई गणित पढ्न चाहने सबैले पढ्न पाउने गरी व्यवस्था गरिएको छ ।

माविमा ७ विषय पढाइ हुने भएको छ | अब अनिवार्य विषयमा अंग्रेजी, नेपाली, सामाजिक र जीवन उपयोगी अथवा गणित विषय राखिएको छ । त्यसपछि तीनवटा समूहमा विज्ञान लगायतका ऐच्छिक विषयहरु राखिएका छन् । नयाँ पाठ्यक्रमअनुसार अनिवार्य चार र ऐच्छिक तीन गरी जम्मा सात विषय पढाइ हुने छ । हाल कक्षा ९ र १० मा आठ तथा ११ र १२ मा पाँच विषय पढाइ भइरहेको छ ।

पाठ्यक्रम विकास केन्द्रले ‘नोट’ लेखेर ‘ऐच्छिक समूहबाट तीनवटै विज्ञान लिएकाले मात्रै गणित विषय रोज्न पाउने’ उल्लेख छ । तर मानविकी र व्यवस्थापन संकायमा यस्तो उल्लेख छैन ।

त्यसैले विद्यार्थीहरुले जुन खालको विषय ११ र १२ मा पढ्न लागेका छन्, त्यही विषयसँग सम्बन्धित गणित सबैले पढ्न पाउने गरी प्रारुप परिवर्तन हुनुपर्ने नेपाल गणित समाजका सहसचिव एवम् जीवन काफ्ले बताउँछन् ।

‘विज्ञानमा जस्तै व्यवस्था मानविकी र व्यवस्थापन संकायमा पनि हुनुपर्छ र गणितको प्रयोगात्मक कक्षा सञ्चालनको व्यवस्था गरिनुपर्छ,’ त्रिभुवन विश्वविद्यालय केन्द्रीय गणित विभागका उपप्रध्यापकसमेत रहेका काफ्लेले भने ।

उनले भने, ‘प्राक्टिकल गणित पनि सेलेबसमै हुनपर्छ किनभने प्रयोगात्मक कक्षाले सिकाइको स्तर बढाउँछ । बरु विज्ञहरुसँग ब्यापक छलफल होस् । त्यसका लागि नेपाल गणित समाजले पनि सहयोग गर्ने छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!