बैतडीका स्वयंमसेविकालाई मोवाइल वितरण गरेपछि सेवा प्रबाह सहज बन्दै

Posted on: 31 Oct, 2018

कृष्ण बिष्ट | कात्तिक १४, बैतडी | बैतडीका महिला स्वास्थ्य स्वयंसेविकाहरुले मोबाइल प्राप्त गरेपछि उनिहरुले प्रदान गर्ने सेवा प्रभावकारि हुन थालेको छ । गर्भवती महिलालाई स्वास्थ्य संस्थामा तोकिएको समयमा जाँच गर्ने, स्वास्थ्य संस्थामै सुत्केरीको संख्या बढाउनका लागि मोबाइल मार्फत सजिलो भएको महिला स्वास्थ्य स्वयंसेविकाहरुले बताएका छन् । 

जिल्लाभरिका ८ सय ३१ महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मेडिक मोबाइलको सहयोगमा निशुल्क रुपमा मोबाइल वितरण गरिएको हो । 


मेडिक मोबाइलको सहायताले काम गर्दा पहिलाको तुलनामा सहज भएको छ । गर्भ  जाँचका लागि गर्भवति महिलालाई स्वास्थ्य संस्थामा पठाउन सहज भएको बासुलिङ स्वास्थ्य चौकि सुर्नयाका महिला स्वास्थय स्वयंमसेबिका तारा भट्टले बताउनुभयो ।  

महिला स्वयमसेविकाहरुले प्रत्येक दिन स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता मेडिक मोबाइल प्राप्त गरेपछि हटेको छ । रजिस्टरमा लेखेर पठाउदा अप्ठ्यारो हुनेगथ्र्यो भने अहिले म्यासेज मार्फत आवस्यक जानकारि गराउदा सजिलो भएको सिद्धपुर स्वास्थ्य चौकिका स्वास्थ्य स्वायंमसेविका कमला बिष्टले बताउनुभयो । 

मातृ मृत्यु र शिशु मृत्युदरमा कमी ल्याउनका लागि महिला स्वास्थ्य स्वयंसेविकाको हातहातमा मोबाइल पुगेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. जगदिश चन्द्र बिष्टले बताउनुभयो । 

गर्भवती महिलाको नाम महिला स्वास्थ्य स्वयंसेविकाको मोबाइलमा दर्ता हुने र उनीहरुले जाँच गर्ने समयमा महिलाहरुलाई खबर गर्न  मेडिक संस्थाले  उपल्वध गराएको मोवाइलले सेवा प्रभावकारि भएको पाटन नगरपालिकाका स्वास्थ्य प्रमुख मदन महराले बताउनुभयो ।

महिला स्वास्थ्य स्वयंसेविकाहरुको मोबाइलमा सम्बन्धित स्थानीय तहले मासिक एक सय रुपैंयाका दरले रिचार्ज समेत गर्ने गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!