दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा ६ दिन भ्रमणमा दश लाख खर्च

Posted on: 02 Nov, 2018

चिसाङ शेर्पा | कार्तिक १६, खोटाङ | ६ दिन भ्रमणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दश लाख खर्च गरेको छ । वाह्य तथा आन्तरिक स्थानमा अध्ययन, अनुगमण र भ्रमण गरेर उक्त रकम खर्च गरेको हो ।

नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेबी राई, राजनीतिक सल्लाहाकार कमल ढकाल, नगर कार्यपालिका सदस्य, १३ वडाका वडाध्यक्ष सहित ३१ जनाले सिक्किम, दार्जिलिङ, सुनसरी र इलाम भ्रमण गर्दा दश लाख खर्च भएको नगरप्रमुख रिजालले बताए ।

गत कार्तिक ९ गतेदेखी १४ गतेसम्म नगरपालिकाका प्रमुख, उपप्रमुख तथा अन्य जनप्रतिनिधि र कर्मचारीहरुले सिक्किमको रान्का राई गाउँ पञ्चायत र राम्ची गाउँपालिकासँग औपचारिक छलफल भएको नगरपालिकाले गर्दै आएको ‘सुशासनका लागि मिट प्रेस’ मा जानकारी दिईएको हो । यस्तै, नेपालमा सुनसरीको इटहरी उपमहानगरपालिका र इलामको इलाम नगरपालिकासँग यहाँ र त्यहाँको अनुभव आदानप्रदान भएको थियो ।

अध्ययन, अनुगमण र भ्रमणले पर्यटन, विकास, शिक्षा, योजना कार्यान्वयन, कानुन कार्यन्वयन जस्ता कुरालाई इन्डिकेट गरेको र त्यसलाई आगामी दिनमा आफ्नो नगरपालिकामा कार्यन्वयन गर्ने नगरपालिकाले जनाएको छ । भ्रमणमा दिक्तेल र चिउरीडाँडाका वडाध्यक्ष गएका थिएनन् । उनीहरु कार्य व्यवस्तताले नगएको नगरप्रमुख रिजालले बताए । २०७४ असोज २५ गतेको पहिलो नगरसभाले गरेको निर्णय अनुसार भ्रमणमा गईएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!