मध्य पहाडि लोकमार्गमा डरलाग्दो दुर्घटना, कसरी भयो त घटना ?

Posted on: 03 Nov, 2018

कमल पौडेल | कात्तिक १७, बडिगाड (बागलुङ) | मध्यपहाडि लोकमार्ग अन्तर्गत बडिगाड गाउँपालिका वडा नं. २ को सक्नयार आकाशे पुल नजिकै लु ६ प ८१३७ नं. को मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएका छन् । 

सो दुर्घटनामा गुल्मी मुसिकोट नगरपालिका वडा नं. ६ भुवाचिदि निवासी वर्ष ४० का मेनुका शर्माको ज्यान गएको हो भने उहाँका श्रीमान् वर्ष ४६ का ध्रुव रिजाल गम्भिर घाइते हुनुभएको हो । घाइतेको खर्वाङमा सामान्य उपचार पछि थप उपचारको लागि पाल्पा पठाइएको छ । रिजालको टाउकोमा चोट लागेको छ । दुवै जना तुरतुरे ताल हेरेर फर्किने क्रममा सडकवाट झण्डै सय मिटर तल बडिगाड खोलामा खसेका थिए । मेनुकालाई खोलाले वगाएको थियो । खारपानीमा उनको शव निकालिएको थियो । अहिले इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट इस्पेक्टर ओम प्रकाश यादवको टोलीले घटनास्थलको मुचुल्का तयार गरेपछि शवलाई गुल्मीको मजुवामा पोष्टमार्टमको लागि पठाइएको खर्वाङ प्रहरी चौकीका प्रनानी लाल वहादुर चौधरीले जानकारी दिनुभएको छ । 


दुर्घटनामा पर्ने दुवैजना त्रिभुवन माविका शिक्षक हुनुहुन्छ। माध्यमिक तहको स्थायी शिक्षक रहेका ध्रुव र प्राथमिक तहको राहत शिक्षक रहेकी मेनुका ताल हरेर फर्किने क्रममा दुर्घटनामा परेका हुन् । परिवारमा वृद्ध बाबा आमा सहित  एक छोरा र एक छोरी रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ । घटनाले त्रिभुवन मावि भुवाचिदि सहित वजार नै शोकमा डुवेको छ ।


कसरी भयो त घटना ?

तुरतुरे ताल हेरेर फर्किने क्रममा आकाशेपुल नजिकै घुम्तिमा मोटरसाइकल नघुमि छेवैमा रहेको पोलमा ठोकिएको थियो । सो पोलमा मोटरसाइकल ठोकियपछि मोटरसाइकलको पछाडि रहेकी मेनुका उछिट्टीयर खोलामा पुग्नुभएको थियो र खोलाले वगाएको थियो । 

चालक श्रीमान् ध्रुव भने छेवैवाट धसारिँदै केहि तल अड्किएको अवस्थामा संगै पछाडि आएका साथीले उद्धार गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!